धरान : धरानमा कोभिड-१९ सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै यसलाई रोकथाम तथा नियन्त्रण गर्न केही दिनसम्म भिडभाड हुने स्थान र कोरोना सङ्क्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङसँगै अनुगमन गरिने भएको छ।

बिहीबार उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर दैनिक रूपमा वृद्धि हुँदै गएको कारण यस्तो निर्णय गरेको हो।

बैठकले शुक्रवार दिउँसो २ बजे धरान उपमहानगर परिसरमा भेला भएर संयुक्त रूपमा धरानका भिडभाड हुने स्थान बजार तथा मुख्य चौकहरूमा अनुगमन गर्ने पनि निर्णय गरेको छ।

साथै, बिहीबार देखी नै माइकिङ गर्न पनि थालिएको छ भने मास्क अनिवार्य लगाउन पनि सचेतना गर्ने भएको छ । यस्तै भानुचौक लगायत धरानको मुख्य चौकहरूमा निजी सवारी साधनहरूलाई पार्किङ गर्न पनि नदिने निर्णय भएको छ ।

मेयर तिलक राईले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर भयाबह स्थिति बन्दै गएको बताए। दुई, चार दिनपछि पनि स्थिति जस्ताको तस्तै रह्यो भने फेरि सर्वपक्षीय छलफल बसेर थप कडाइका साथ लकडाउन गर्न बाध्य हुने मेयर राईले बताए।

बैठकमा उपमेयर मञ्जु भण्डारी, कार्यकारी अधिकृत विदुर प्रसाद खनाल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, धरान उपमहानगरपालिकाको महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।