धरान : प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरू बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा गत आर्थिक वर्षमा ७ हजार ३ सय ८४ मुद्दा दर्ता तथा ४० करोड भन्दा बढी राजश्व सङ्कलन भएको प्रहरीले जानकारी दिएको छ।

समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सारबाट हुने अवैध चोरी निकासी, नदीजन्य पदार्थको अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रूपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

गत आर्थिक वर्षमा ७ हजार ३ सय ८४ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारबाही गरिसकिएको तथा फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ वर्ष कैद भुक्तान भई , ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व सङ्कलन भएको हो।

लागुऔषध नियन्त्रण तर्फ विशेष ध्यान दिई व्यापक रूपमा प्रहरी परिचालन गरे अनुसार ३५१६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १७८९.१११ केजी गाँजा बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

विभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल, अन्य विभिन्न किसिमका मनोद्धिपक औषधीहरू २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ। यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट समेत नष्ट गरिएको छ।

भन्सार चोरी निकासी तर्फ अवैध रूपमा समान चोरी निकासी गर्ने १९० जना मानिस पक्राउ गर्नुका साथै १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको अवैध रूपमा दोहन गर्ने १७० जना मानिस र ७८५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३०० राजश्व सङ्कलन भएको छ । अवैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३२६१ क्यूफिट काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

ट्राफिक व्यवस्थापन तर्फ ट्राफिक नियम उलङ्घन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारबाही गर्दा १५ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन भएको छ । यसरी गत आर्थिक वर्षको श्रावण देखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्दा दर्ता भई ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व सङ्कलन भएको हो।