धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक डाक्टरलाई गालीगलौज तथा अभद्र व्यवहार गरेपछि आन्दोलित भएका जुनियर रेजिडेन्ट सोसाइटीमा आबद्ध डाक्टरहरू आज देखि नियमित काममा फर्किएका छन् ।

हिजो दिनभरि भएको वार्ता र छलफलबाट प्रतिष्ठानको आर्थिक प्रशासन महाशाखा प्रमुख कमल रायमाझीले डा.विप्लव कार्कीको आवासमा गएर अभद्र व्यवहार गरेको घटनाबारे छानबिन समिति गठन गरेको छ । प्रतिष्ठानले एक अपिल जारी गरी प्रतिष्ठानका गाइनो विभाग प्रमुख डा.पप्पु रिजालको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको जनाएको छ ।

अपिलमा भविष्यमा त्यस्तो घटना दोहोरिन नदिन दोषीलाई लिखित स्पष्टीकरण माग गर्ने र निर्धारित समयमा उचित स्पष्टीकरण नआएमा नियमावली बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उल्लेख छ ।

लेखा प्रमुख रायमाझीले अभद्र व्यवहार गरेको भन्दै डा.कार्कीले प्रहरीमा जाहेरी समेत दिएका छन् । जुनियर रेजिडेन्टहरूले कोभिड अस्पताल र इमरजेन्सी सेवाबाहेकका सम्पूर्ण सेवाहरू बहिष्कार गरेर आन्दोलित भएका थिए ।

हिजो दिनभरि जुनियर रेजिडेन्ट, कर्मचारी प्रतिनिधिहरू र पदाधिकारीहरूसँग दिनभरि वार्ता भएको जुनियर रेजिडेन्ट सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताए । उक्त वार्तामा रायमाझीलाई तत्काल स्पष्टीकरण सोध्ने, प्रतिवेदन अनुसार कारबाही गर्ने, भविष्यमा त्यस्तो घटना नदोहोर्‍याउने लिखित प्रतिबद्धता व्यक्त गर्ने लगायत सहमति भएको छ ।

साथै, जाहेरी दर्ता भइसकेको हुनाले कानुनी कारबाहीबारे सहजीकरण गर्ने पनि सहमति भएको छ । यदि प्रतिष्ठानले कारबाही अगाडी बढाएन भने कानुनी कारबाही बारेमा सहजीकरण हुन नसक्ने पनि डा. नेपालीले बताए ।