धरान : धरानकी एक महिलामाथि बलात्कारको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी समेत रहेका उनलाई बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

एसएसपी राणा एसपी हुँदा जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रमुख भएर पनि बसेका थिए । त्यसक्रममा नै उनको ती महिलासँग चिनजान भएको र निकट सम्बन्ध भएको बताइएको छ । त्यसपछि उनी क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा पनि प्रमुख भएर बसेका थिए । एसएसपीमा बढुवा भएपनि पछिल्लो समय प्रहरी प्रधान कार्यालय मातहतको संघीय प्रहरी इकाई कार्यालय धरानको प्रमुखका रुपमा कार्यरत थिए ।

डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि एउटा दरबन्दी खाली थियो । राणा एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । पीडित महिलाले लेखाएको उजुरी अनुसार लामो समयदेखि राणाले उनलाई यौन शोषण गरेका थिए। तत्कालीन एसपी हुँदा राणाले सुनसरीमा तीन पटक प्रहरी प्रमुख भएर काम गरिसकेका छन्।

बलात्कारको आरोप लागेपछि गृहमन्त्रालयले एसएसपी राणालाई निलम्बन गरेको थियो।