दमक : स्थानीय सरकार नागरिकका समस्यालाई बेवास्ता गर्दै भ्रष्टाचार र कुशासनमा मस्त रहेको भन्दै दमक नगर भित्रका विपक्षी दलहरू त्यसको विरोधमा उत्रिएका छन् । नेकपा एमालेको एकलौटी बहुमत रहेको नगरपालिकामा नागरिकका दैनिक समस्या समाधानमा स्थानीय सरकार रमिते बनेको विपक्षी दलहरूले ठहर गरेका छन्।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी र सङ्घीय लिम्बुवान मञ्च सहितका दलहरूले नगरपालिका विरुद्ध सङ्गठित भएर खबरदारीको तयारी गरेका हुन। माओवादी केन्द्रको नगर समिति कार्यालयमा भएको पाँच पार्टीको भेलाले नगरवासीका समस्याहरूलाई बुँदागत रूपमा छलफल गरी ती समस्या समाधानको लागी स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

दलहरूको भेलाले दमक नगरभित्र कोरोना सङ्क्रमण अत्यधिक बढ्नुमा स्थानीय सरकार मातहत रहेको दमक अस्पतालको भिडभाड प्रमुख रहेको ठहर गरेको छ । स्वास्थ्य बिमा अन्तर्गतका सेवाग्राहीलाई अन्य कुनै अस्पतालमा जान नदिई भिड गरेर लाइन लगाउनाले कोरोनाको जोखिम बढाएको काँग्रेस नगर सभापति रोशन विष्टले जानकारी दिए । दैनिक ५-६ सय नागरिक एकै ठाउँमा जम्मा हुँदा नगर भित्र कोरोना सङ्क्रमण अत्यधिक रूपमा बढेको भन्दै त्यस तर्प स्थानीय सरकारको ध्यान नगएको विष्टले बताए ।

स्थानीय सरकारले विकास निर्माणमा आफ्ना आसेपासेलाई मात्रै पोस्ने काम गरेको भन्दै दमक क्षेत्रमा भएको विकास निर्माणका कामहरूमा आफूहरूसँग कुनै छलफल नगरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्वाङले बताए ।

एकलौटी रूपमा जनप्रतिनिधिहरूका आफन्तलाई उपभोक्ता समितिमा राखी मनोमानी गरेको भन्दै उनले यसको सशक्त प्रतिकार गर्ने बताए । त्यस्तै नगरका सामुदायिक विद्यालयहरूमा पनि काम चलाऊ व्यवस्थापन समितिले काम गरिरहेको भन्दै नियम अनुसार अभिभावकको प्रतिनिधित्व हुने गरी व्यवस्थापन समिति गठन गर्नु पर्ने पनि विपक्षी गठबन्धनले माग गरेको छ ।

नगरका बेथिति विरुद्ध ध्यानाकर्षण गराउने र त्यसबाट पनि नगरको नेतृत्व नसुध्रिए सशक्त आन्दोलन गर्ने नेकपा माओवादी केन्द्रका नगर सचिव तीर्थराज बस्नेत शंकरले जानकारी दिए ।