धरान : सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीले दुई शैयाको भेन्टिलेटर सेवा सहित ५ बेडको आइसियु सेवा सञ्चालन गर्ने भएको छ । सेवा सञ्चालनको लागी सम्पूर्ण तयारी पूरा भइसकेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका प्रमुख सुन्दरश्याम झाका अनुसार आइसियुका लागि अस्पतालले २१ प्रकारका सामाग्री खरिद प्रक्रिया अघि बढाइसकेको छ । अक्सिजन प्लान्ट पनि धमाधम जडान भइरहेको र आइसियु सेटअपमा आवश्यक २१ प्रकारका सामाग्री साउन २० सम्ममा जिल्ला अस्पतालमा ल्याउनको लागी ¥यापिट ट्रेडर्सलाई छनौट गरिसकेको छ।

विशेषज्ञ सेवाका लागि सङ्खुवासभा र भोजपुरवासी बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै झाले जिल्लामै उपचार सेवा भरपर्दो हुने विश्वास व्यक्त गरे । अस्पतालले विशेषज्ञ सेवा सञ्चालनका लागि डिफिब्रेटर ३ थान, एबिजी मेसिन २ थान, अत्याधुनिक भिडियो एक्स-रे मेसिन फोरडि १ थान लगायतका २१ प्रकारका सामाग्री खरिद गर्ने उनको भनाई छ।

यसअघि ९ सय मेगावाट अरुण तेस्रो आयोजना एसजेभिएनले अस्पताललाई २ थान भेन्टिलेटर र आइसियु सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराइसकेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए। स्वास्थ्य उपकरण र सामाग्री भएर पनि हामीले सेवा दिन नसकेको बताउँदै उनले अति आवश्यक पर्ने अक्सिजन प्लान्ट साउन दोस्रो साता भित्र जोडिसक्ने प्रतिबद्धता जनाएका छन् । भेन्टिलेटर र आइसियु सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले १८ लाख रुपैयाँ सहयोग गरेको श्रेष्ठले बताए । कुनिनाले उपलब्ध गराएको १८ लाखले विशेषज्ञ चिकित्सक ल्याउने सम्झौता भएको छ ।

अस्पतालका प्रमुख डा. झाले विज्ञप्ति जारी गरेर स्वास्थ्य सामाग्री र उपकरण गुणस्तरीय ल्याउने दाबी गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा वायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीको उपस्थितिमा स्वास्थ्य सामाग्री र उपकरणको परीक्षण र गुणस्तर मापन हुने उल्लेख गरेका छन् । अस्पतालले राजनीतिक दल, नागरिक समाज, पत्रकार र सरोकारवाला सँग अन्तरक्रिया समेत गर्ने जनाएको छ।