धरान : धरान-१३ मा रहेको कृषि उपज बजार स्थलमा प्रदेश १ कै ठुलो शीत गृह निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ ।

९० टन क्षमताको सो शीत गृह निर्माण सम्पन्न भई यो साता भित्र सञ्चालनमा ल्याउने तयारी रहेको कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । यस भन्दा अघि आर्थिक वर्ष २०७६/०७७ मा ७५ टन क्षमताको शीत गृह सञ्चालनमा ल्याइसकेको कृषि उपज बजार स्थलले थप ९० टन क्षमताको शीत गृह सञ्चालनमा ल्याएको हो । यो सँगै अव धरानको कृषि उपज बजार स्थलमा १ सय ६५ टन क्षमताको शीतगृह सञ्चालनमा आउन लागेको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम अन्तरगत प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालयको ५० लाख (७५ प्रतिशत) र कृषि बजार व्यवस्थापन समितिको १७ लाख गरी कुल ६७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको व्यवस्थापक भट्टराईले जानकारी दिए ।

३ वटा चेम्बर रहेको सो शीत गृहमा प्रत्येक चेम्बरको क्षमता ३० टनको रहेको छ । जम्मा क्षमता ९० टनको क्षमता रहेकोले अव तरकारीजन्य बस्तुलाई शीत गृहमा राखेर सहजरुपमा आवश्यकता अनुसार बिक्री वितरण र किसानले भण्डारण गर्न सक्नेछन् ।

कृषि उपज बजार स्थलले अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा पनि प्रदेश सरकार कै सहयोगमा ७५ टनको शीत गृह बनाई सेवा दिई रहेको छ ।

शीत गृहबाट स्थानीय उत्पादन जस्तै किबि,नास्पाती,सुन्तला र बिउमा प्रयोग हुने आलु लगायत अन्य कृषि उपज लाई प्राथमिकतामा राखी सेवा दिइने बताइएको छ ।

यस भन्दा अघि निर्माण गरिएको ७५ टन क्षमताको शीत गृहमा हाल ६० टन भन्दा माथि फलफूल शीत भण्डारण गरिएको बताइएको छ ।

अब आउने दिनमा फलफुलहरु पकाउन मिल्ने आधुनिक चेम्बर(ripening chamber) बनाई विषादी मुक्त फलफूल उपभोक्तालाई लाई खुवाउने योजना राखी अघि बढिरहेको कृषि उपज बजार स्थल धरानले जनाएको छ ।

कृषि उपज बजार स्थलमा निर्माण भएको शीत गृहमा किसानले प्रतिकेजी ३ रुपैयाँका दरले तीन महिना आफ्नो उत्पादन भण्डारण गर्न सक्नेछन् भने व्यापारीले प्रतिकेजी ५ रुपैयाँका दरले भण्डारण गर्न पाउने कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । विषेशगरी पहाडी क्षेत्रबाट आउने हरियो तरकारी र फलफूलको लागि यो शीत गृह प्रभावकारी हुन सक्ने बताइएको छ ।

Sit-Bhandar