काठमाडौँ  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई पूर्वमाओवादी नेतासमेत रहनुभएका विश्लेषक मुमाराम खनालले तनाव व्यवस्थापनको तरिका सिकाइदिएका छन् । प्रचण्डले पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्न नसक्दा आफू ठुलो तनावमा परेको बताएपछि खनालले तनाव व्यवस्थापनको सूत्र बताइदिएका हुन ।

खनालले प्रचण्डलाई सुझाउँदै ट्विटरमा लेखेका छन्, ‘प्रचण्ड जी तनावमा हुनुहुन्छ रे । आफ्ना ४९ जना सांसदहरू सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिँड्छन् रे । पार्टीको भागमा जम्मा ७ जना परेका छन् रे । १७ महिना जसोतसो व्यवस्थापन गर्नुस् कमरेड, अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र सांसद आउँछन् कुरो मिल्छ ।’

प्रचण्डले शनिवार आफ्ना ४९ जना सांसद सबै मन्त्रीको दाबेदार भइदिएपछि आफूलाई ठुलो तनाव भएको सार्वजनिक कार्यक्रममै बताएका थिए । प्रचण्डले आफ्नो दुखेसो साटिरहँदा मन्त्री भएकी पम्फा भूसाल मञ्चमै थिइन भने मन्त्रीका तीव्र आकाङ्क्षी देवेन्द्र पौडेललगायत पनि कार्यक्रममा उपस्थित थिए । मन्त्रीको आकाङ्क्षी नभएका सांसदहरूले पनि प्रचण्डको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन् । आफूहरूलाई एकै घानमा राखेर अपमान गरेको उनीहरूको भनाइ छ ।

प्रचण्डको यो भनाई लाई फेसबुक र ट्विटरमा कतिपयले ४९ जनाभित्रै रहनुभएकी पूर्व मन्त्री एवं दाहालकी बुहारी बिना मगरलाई मन्त्री बनाउन नपाएको झोँक फेरेको भन्दै ठट्टा र व्यङ्ग्य गरेका छन् । प्रचण्ड अहिले पनि बुहारी बिनालाई मन्त्री बनाउने योजनामा रहेको बताइएको छ ।