धरान : सुनसरीमा सोमबार देखि कोरोना विरुद्धको भेरोसेल खोप ३० हजार जनालाई तीन दिन लगाईदैछ ।

साउन ११, १२ र १३ गते तीन दिन सुनसरी जिल्लाको ६९ वटा खोप केन्द्रहरूबाट कोरोना विरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

स्वास्थ्य कार्यालय सुनसरीले तोकेको भन्दा केही तलमाथि खोप केन्द्रहरू हुन सक्ने र स्थानीय निकायहरूले आफैले पनि खोप केन्द्र निर्धारण गर्ने भएकोले तलमाथि हुन सक्ने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए।

स्वास्थ्य सेवा विभाग को मिति २०७८ असार २८ गतेको पत्रअनुसार सुनसरी जिल्ला भित्र बसोबास गर्ने ५५ वर्ष र सो भन्दा माथिका उमेर समूहका सबै नागरिकहरूलाई खोप लगाउने स्वास्थ्य कार्यालयले निर्णय गरेको छ ।

यसै गरी यस पटक सुनसरी जिल्ला भित्रका विश्व विद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई सम्बन्धित संस्थाले जारी गरेको परिचय पत्रको आधारमा पनि खोप दिइनेछ।

यसै गरी सुनसरी जिल्ला भित्रका सार्वजनिक यातायातमा कार्यरत चालक र सह–चालकहरूलाई सम्बन्धित कम्पनी वा यातायात व्यवसायी सङ्घको परिचय पत्रको आधारमा खोप लगाउन पाउनेछन्।

खोप अनिवार्य गरेको देशमा जाने नेपाली नागरिकहरूलाई पासपोर्ट र भिसाको प्रमाणको प्रतिलिपिको आधारमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने बताइएको छ।

खोप कार्यक्रम व्यवस्थापन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका स्थानीय युनिटहरूले आफ्नो क्षेत्रका खोप केन्द्रहरू सँग समन्वय गरी आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय समेत भएको प्रमुख प्रसाईँले बताए ।

Nirnaya