धरान : सुनसरीमा कोरोना संक्रमणदर बढिरहेकोले साउन १९ गते सम्म निषेधाज्ञा थप भएको छ ।

धरानमा कोरोना संक्रमणदर बढेकोले भोलि देखि तरकारी पसलहरू बिहान ९ बजे सम्म र अन्य पसलहरू बिहान १० बजे देखि अपराह्न ५ बजे सम्म मात्र सञ्चालन गर्न पाउने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको आज बसेको डिसिसिएमसीको बैठकले साउन ११ गते देखी साउन १९ गते मध्यराती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

बैठकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने निस्किनै परे नेपाल सरकारद्वारा तोकिएको २ (दुई) मिटरको भौतिक दुरी, स्वास्थ्य मापदण्ड (साबुन पानीले हात धुने, मास्क र सेनिटाईजरको प्रयोग ) अनिवार्य रूपले पालना गर्ने । कुनै पनि स्थानमा जम्मा भई भेला, जुलुस, सम्मेलन, हाट, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायतका भिडभाड गर्न नपाइने जनाइएको छ ।

सबै स्थानीय तहले आफ्नो क्षेत्रमा अनिवार्य मास्क प्रयोगका लागि प्रचार पसार गर्ने आवश्यक मात्रामा मास्क वितरण गर्ने व्यवस्था मिलाउने मास्क नलगाई हिडने व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाही गरिने पनि निर्णय भएको छ । कार्यालय सञ्चालन सम्बन्धमा सरकारी कार्यालय, संस्थान तथा प्राधिकरण, बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले कार्यालयमा भिडभाड नहुने गरी आलोपालो प्रणाली अपनाई नियमित सेवा प्रवाह पाउनेछ ।

पसल तथा व्यवसाय सञ्चालनको हकमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड (भौतिक दुरी, मास्क अनिवार्य, साबुन पानी वा स्यानिटाइजर को व्यवस्था) पूर्ण रूपले पालना गर्नुपर्ने डिसिसिएमसीको निर्णयमा उल्लेख छ ।

कृषि थोक बजार बिहान ४ बजे देखी बिहान १२ बजे सम्म सञ्चालन गर्न पाउने । यात्रुहरूको सुविधालाई मध्यनजर गरी राजमार्ग छेउछाउका होटल तथा रेस्टुरेन्टहरू बिहान ८ बजे देखी बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउने तर भौतिक दुरी, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग साथै कर्मचारी तथा कामदारले अनिवार्य मास्क तथा पन्जा प्रयोग गरेको हुनु पर्नेछ ।

भिडभाड हुने पार्टी, डान्स, दोहोरी जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । (अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड अपनाएको नपाइएमा तत्काल उक्त होटल तथा रेष्टुरेन्ट बन्द गराई प्रचलित कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सङ्क्रमण अत्यधिक रूपले वृद्धि हुँदै गएकोले धरान उपमहानगरपालिका क्षेत्रमा सागसब्जी तथा तरकारी पसलहरू बिहान ९ः०० बजे सम्म र अन्य पसलहरू बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय भएको छ ।

सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्स वार जिम खाना, समूहमा खेलिने खेलकुद, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न नपाइने

गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने भौतिक रूपमा उपस्थित भई गर्नै पर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन गर्ने ।

सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा निजी तथा सबै प्रकारका सार्वजनिक सवारीसाधन साउन ११ गते देखी मिति साउन १९ गते राती १२ बजेसम्म कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराखे सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने,चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने,सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्नेछ र अनिवार्य रूपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्ने भनिएको छ ।

यसै गरी मठ मन्दिर, मस्जिद, गुम्बा तथा चर्चहरूमा दैनिक रूपमा गरिने नित्य पूजा, प्रार्थना मात्र निरन्तर गर्न पाउने, धार्मिक तथा सांस्कृतिक कार्यहरू, मेला चाड पर्व, जात्रा, महोत्सव, भेला तथा अन्य सामूहिक गतिविधिहरू गर्न पूर्ण रूपले निषेध गर्ने विवाह तथा व्रतबन्ध आयोजनाका लागि १५ जना (दुलाहा, दुलही सहित) भन्दा बढी नहुने गरी मात्र सहभागी हुन पाइनेछ ।

वैवाहिक कार्यक्रममा सहभागी भई अन्यत्र जिल्ला जानु ÷ फर्कनु पर्ने भएमा (दुलाहा, दुलही सहित) १५ जना भन्दा बढी नहुने गरी २ वटा सवारी साधन प्रयोग गरी स्वास्थ्य मापदण्ड अपनाई सवारी साधनमा ब्यानर राखी आवत जावत गर्न पाइनेछ ।

भारतीय नाकाहरूबाट आवतजावत गर्न भने निषेध गरिएको छ । अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्मा खोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरू माथि कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।

निषेधाज्ञाको अवज्ञा गर्नेलाई कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सङ्क्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरू कुनै पनि बेला पुनरावलोकन गर्न सकिने पनि जनाइएको छ ।

Nisedhagya-1 2 Nisedhagya-2 2