धरान : गत जेठ ५ गते धरान-४ को बैदाङ खोपमा सडेको अवस्थामा भेटिएका धरान-५ का २५ वर्षीय प्रदीप सुब्बाको मृत्यु प्रकरणमा प्रहरीले धरानका ३ जनालाई पक्राउ गरेको छ।

मृतक भेटिएका प्रदीपको परिवारले दिएको उजुरीको आधारमा ४४ वर्षीय मङ्गल सिंह लिम्बू, २० वर्षीय भरत भुजेल र ५४ वर्षीय जन्तरे भनिने राम बहादुर राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

मृतकका बुबा सूर्य बहादुर सुब्बा र कृतिमा सुब्बाले गत जेठ ७ गते दिएको उजुरी प्रहरीले दुई महिना पछि साउन ७ गते मात्र दर्ता गरेको हो। उजुरी दर्ता भएपछि साउन ८ गते सुनसरी जिल्ला अदालतले ३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेका ३ जनालाई अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपीले बताए ।

यस घटनाको पहिलो चरणको अनुसन्धानमा प्रदेश १ को प्रहरीको टोली, सुनसरी प्रहरीको टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र धरान प्रहरीको संयुक्त टोलीले अनुसन्धान गर्दा हत्याको शङ्का ३ जना माथि देखिएको प्रहरीको भनाई छ।

डिएसपी कुँवरले भने : 'अपराधी तुरुन्त हामी पक्राउ गर्न पनि सक्छौ तर, अपराधीलाई केही समय खुल्ला छाडिदियो भने थप प्रमाण फेला पर्छ। प्रहरीको अनुसन्धान गर्ने आफ्नै शैली हुन्छन्।' उनले भने ‘यस केसमा पनि त्यही भएको छ, अपराधीलाई खुल्ला केही समय छाडि दिँदा प्रहरीलाई थप प्रमाण फेला परेको छ । अनुसन्धानमा प्रगति हुँदै छ नतिजा छिट्टै आउँछ। ’

घटनाको अनुसन्धान फितलो भएको भन्दै पीडित पक्षहरूले विगत दुई महिना देखी गुनासो समेत गर्दै आएका थिए। घटनाको प्रभावकारी र परिमाणमुखी अनुसन्धान नभएको आरोप लगाउँदै मृतकका आफन्तहरूले गएको असार १३ गते पत्रकार सम्मेलन गरेका थिए। मृतककी बहिनी कृतिमा सुब्बाले धरानका यसअघिका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत र इन्स्पेक्टर हेमराज ओलीको टोली आफै घटनास्थलमा पुगेर पनि मुचुल्का उठाउँदा लापरबाही गरेको र प्रहरीले हड्डीका पाँच वटा टुक्रा घटनास्थलमा नै छाडेको बताइन।

मृतकको परिवारले सत्य तथ्य बाहिर आउनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने माग गरेका छन्। 'साथीले मोबाइल बनाइदिएको रहेछ म जान्छु' भन्दै घरबाट निस्किएका उनी घर फर्केनन् । उनको शव जेठ ५ गते जङ्गलमा कुहिएको अवस्थामा फेला परेको थियो।

मृतक प्रदीप आमासँग बस्दै गरेको भए पनि उनी पछिल्लो समय धरान-८ मा बहिनीकोमा बस्दा बेपत्ता भएका थिए ।