धरान : धरान उपमहानगरपालिकाले तत्कालीन धरान नगर पञ्चायतकलामा २ पटक प्रधानपञ्च भएका सूर्यप्रसाद उपाध्यायको निधनमा सोमबार शोक बिदा दिएको छ ।

वि.स. २०१७ सालमा भएको धरान नगरपालिकाको निर्वाचनमा निर्वाचित सदस्य साथै २०१९ सालको निर्वाचनमा प्रधानपञ्चमा निर्वाचित भई २०२३ साल सम्म काम गरेका धरान–१४ विजयपुर निवासी सूर्य प्रसाद उपाध्यायको साउन १० गते आइतबार ८५ वर्षको उमेरमा असामयिक निधन भएको खबरले सम्पूर्ण धरान उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको धरान उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

साउन ११ गते सोमबारका दिन नगर कार्यपालिकाको कार्यालय साथै मातहतका कार्यालयहरू (अत्यावश्यक सेवा बाहेक) शोक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।

धरान–१४ विजयपुर निवासी उपाध्यायको आइतबार दिउसो अढाई बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको हो ।

उपाध्याय केही वर्ष देखि मुटु सम्बन्धी बिरामी थिए । महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यापक डा.राजेन्द्र शर्माका अनुसार उपाध्याय २०१९ र २०२४ सालमा दुई पटक धरान नगरपञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए ।

२०२८ सालमा राजाबाट राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भएका थिए । त्यस पछि २०४३ सालमा जनकपुर अञ्चलको अञ्चलाधीशमा उपाध्याय नियुक्त भएका थिए ।

धरान नगर पञ्चायतको प्रधानपञ्च हुँदा नेपाल अधिराज्यमै पहिलो पटक स्थानीय निकायबाट कक्षा ५ सम्म प्राथमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउने उनी पहिलो जनप्रतिनिधि पनि हुन् । उनले प्राथमिक शिक्षा अनिवार्य र निःशुल्क पनि धरानबाटै सुरु गरेको डा. शर्माले बताए ।

बाम राजनीतिमा झुकाव राख्ने उपाध्यायको २००८ सालमा राजा त्रिभुवनलाई कालो झन्डा देखाएर राजनीतिको सुरुवात भएको थियो । महेन्द्र बुहमुखि क्याम्पस २०१२ सालमा स्थापना हुँदा पहिलो ब्याचको विद्यार्थी भएको बताउँदै शर्माले भने– राजा धरान आउँदा राजालाई कालो झन्डा देखाउँदा राजाले अगाडी बोलाएर के हो माग ? भनेर सोध्दा उनले धरानको खानेपानी, शिक्षा स्वास्थ्य सुधारको माग गरेका थिए ।

धरानको समृद्धिमा लागि पर्ने स्वार्गिय उपाध्याय अभिनारायण ढुङ्गेल र सावित्री ढुङ्गेलको जेठो छोरा हुन् । उपाध्यायको ३ दाजुभाइ र २ दिदी बहिनी मध्ये उनी जेठो छोरा हुन् । स्वर्गीय उपाध्यायको २ छोरा २ छोरी रहेका छन् । उपाध्यायको पार्थिव शरीरलाई सोमबार बिहान साढे ८ बजे दाहसंस्कारको लागि चतरा लगिने बताइएको छ ।

Sok-Bida-Suchana