धरान : धरानमा कोरोना विरुद्धको खोप आज देखि लगाईदैछ ।

साउन ११,१२ र १३ गते भेरोसेल र साउन १४,१५ र १६ गते जोनसन एण्ड जोनसन खोप लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । ५५ वर्ष वा सो भन्दा माथिकोले लागि आज देखि १३ गते सम्म भेरोसेल खोप लगाइने छ ।

धरानको ७ स्थानमा खोप केन्द्र तोकिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् । उनका अनुसार धरान स्वास्थ्य चौकी छाताचौकमा वडा नं. १, २, ३, १०, १२, र १६ का नागरिक र वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले भिसा र पासपोर्टको आधारमा खोप लगाउन सक्नेछन् भने पाँचकन्या स्वास्थ्य चौकी ठिङ्गावारिमा वडा नं. ४, ५ र ६ का नागरिकहरुले लगाउन सक्नेछन् ।

विष्णुपादुका स्वास्थ्य चौकीमा वडा नं. २०, धरान ८ स्थित सभागृहमा वडा नं. ७, ८ र ९ का नागरिक तथा सार्वजनिक यातायातका चालक, सहचालक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र शिक्षिका कर्मचारीहरूले लगाउने छन् ।

वडा नं. १३ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा वडा नं. ४, १३ र १४ का नागरिकहरूका साथै खोप लगाउन छुटेका सञ्चारकर्मीले पनि सोही केन्द्रमा खोप लगाउन पाउनेछन् । पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरान १५ मा वडा नं. ६ र १५ का नागरिकहरूलाई खोप लगाइने छ भने कार्मेल हाईस्कुलमा वडा नं. ११, १७, १८ र १९ का नागरिकहरूलाई लगाइने मेहताले बताए ।

उनले कोरोना विरुद्धको भेरोसेल खोप साउन ११, १२ र १३ गतेसम्म लगाइने जानकारी दिनुभयो । प्रत्येक खोप केन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप लगाइने छ । धरानमा भेरोसेल खोप ५ हजार आएको छ ।

यस्तै, अमेरिकन जोनसन एण्ड जोनसन खोप धरानमा साउन १४ र १५ गते दुई दिन अरू खोप केन्द्रमा लगाइने र थप एक दिन साउन १६ गते धरान स्वास्थ्य चौकीमा जोनसन एण्ड जोनसन खोप लगाइने स्वास्थ्य महाशाखाले जानकारी गराएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ५० वर्षदेखि ५४ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको सो खोप लगाइने जानकारी दिए । साथै, जोनसन खोप अति अशक्त अपाङ्गता भएका नागरिकहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई लगाइने छ ।

धरानका लागि जोनसन एण्ड जोनसन खोप ५ हजार आउने मेहेताले बताए । धरानमा यो पटक १० हजार जनालाई कोरोना विरुद्धको खोप लगाईदैछ ।