धरान : धरानमा दैनिक कोरोना सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इनरुवामा हिजो बसेको डिसिसिएमसीको बैठकले धरानमा निषेधाज्ञा कडाइ गर्ने निर्णय गरेको छ ।

धरानमा आज देखि तरकारी पसलहरू बिहान ९ बजे सम्म र अन्य पसलहरू बिहान १० बजे देखि साँझ ५ बजे सम्म मात्रै खोल्न पाइनेछ । साउन महिनाको सोमबार धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर बाबाधाममा जल चढाउन आउने भक्तजनहरूको गत साता घुइँचो बढेकोले आज भने कडाइ गरिएको छ ।

पिण्डेश्वर जाने धरान ३ को गौधारा देखि पिण्डेश्वर मन्दिर सम्मै बाक्लै नगर प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ । मन्दिर प्रवेश गर्ने ठाउँहरूमा प्रहरीले कडा निगरानी गरेको छ । यसले गर्दा आज साउनको दोस्रो सोमबार पिण्डेश्वर मन्दिरमा निषेधाज्ञा कडाइ गरिएको छ ।

मन्दिरको अगाडीका फलफूल व्यापारीहरूको पसलहरू पुर्णरुपमा बन्द गरिएको छ भने विभिन्न सवारी साधनमा आउने भक्तजनहरूलाई बाटोबाटै प्रहरीले फर्काउदैछ । धरानमा निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमणदर दैनिक वृद्धि भइरहेको भन्दै प्रशासनको ध्यान केन्द्रित भएको छ ।

धरानमा पछिल्लो समय कोरोना संक्रमणदर वृद्धि सँगै मृत्युदर पनि बढिरहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

केही दिन अघि धरानमा गरिएको बजार अनुगमनसँगै स्थलगत गरिएको परीक्षणमा ३ जना कोरोना सङ्क्रमित बजारमै हिडीरहेको अवस्थामा भेटिएको थियो ।

यसले गर्दा धरानमा कोरोना सङ्क्रमण समुदायमै फैलिएको भन्दै धरान उपमहानगरपालिकाले नगरवासीलाई स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न अनुरोध समेत गरेको छ ।

आज देखि धरानमा निषेधाज्ञा कडाइका साथ लागु गराउने र पालना गर्न नगरवासीलाई धरान प्रहरीले समेत आग्रह गरेको छ ।

Pindeshor-2