झापा : झापामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै खोपको माग बढिरहेका बेला जिल्ला स्वास्थ्य कार्यालय झापाले मङ्गलवारबाट ६२ हजार पाँच सय ५३ जनालाई खोप लगाउने भएको छ ।

हालसम्म कोभिशिल्ड भ्याक्सिनको पहिलो चरणमा ५३ हजार तीन सय ५३ जनाले लगाएको र दोस्रो डोज आठ हजार दुई सय ९९ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाँईले जानकारी दिए ।

भारतबाट आएको कोभिशिल्ड पछिल्लो समय नआएका कारण पहिलो चरणको खोप लगाएका र बाँकी रहेकाले खोप लगाउन नपाएको जनाएका छन् ।

दोस्रो चरणमा आएको भेरोशील खोप भने १३ हजार पाँच सय जनाले दुवै चरणको लगाएको चम्लागाँईले बताए । पहिलो चरणको खोप लगाएको र दोस्रोको पर्खाइमा करिब ४५ हजार नागरिक रहेको जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि झापामा खोपलाई पहिलो प्राथमिकतामा राखेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मङ्गलवारबाट झापाका १५ वटै स्थानीय तहमा खोप कार्यक्रमलाई अगाडि बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ । ५५ वर्षमाथिका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप कार्यक्रम अघि बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोनाको सङ्क्रमण कम भएको भन्दै निषेधाज्ञालाई खुकुलो बनाइरहेका बेला स्थानीय तहले भने आफ्नो क्षेत्रमा कोरोनाको सङ्क्रमण बढेको भन्दै सिल गर्न थालेका छन् ।

बुद्धशान्ति गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, दमक नगरपालिकाले सिल गर्ने निर्णय गरिसकेका छन् ।

कोरोनाको सङ्क्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाउन चिकित्सकले सुझाव दिइरहेका बेला स्थानीय तहले भने आफ्नो क्षेत्र सिल गरेर नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापामा पाँच सय सक्रिय सङ्क्रमित रहेका छन् ।

निजी क्षेत्रले खोप खरिद गर्ने अनुमति माग्न थालेका छन् । केही स्थानीय तहले आफ्ना नागरिकलाई खोप लगाउने घोषणा गरे पनि सरकारले अनुमति नदिँदा अन्योल बढेको छ । यता नागरिकले भने खोपलाई पहिलो प्राथमिकता दिन सरकारलाई दबाब दिन सुरु गरेका छन् ।

त्यस्तै जिल्ला कोभिड व्यवस्थापन समिति डीसीएमसीको आइतबार बसेको बैठकले कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउन बाँकी ५५ वर्ष र सोभन्दा माथि उमेर समूहका सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले पहिलो र दोस्रो दिन अर्थात् साउन १२ र १३ गते लक्षित उमेर समूहलाई र त्यस पछि साउन १५ गतेसम्म शिक्षक, कर्मचारी, प्राध्यापक, सार्वजनिक यातायातका चालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरू, विदेश जान भिसा लागेका नागरिकहरूलाई खोप लगाउने निर्णय गरेको छ ।

त्यसै गरी पेट्रोलियम व्यवसायमा संलग्न फ्रन्टलाइनमा कार्यरत कामदार, भन्सार एजेन्ट, छुटेका सुरक्षाकर्मी, उद्योग वाणिज्य सङ्घ र निर्माण व्यवसायी सङ्घका पदाधिकारी, रेडक्रसकर्मी तथा वैकिङ सेवाको क्यास काउन्टरमा काम गर्ने कर्मचारीहरूलाई खोप लगाइने छ ।

खोपहरू जिल्लास्थित सम्पूर्ण सरकारी अस्पतालहरू, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र पालिकाले तोकेको स्थानहरूबाट दिइने पनि निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।