इटहरी : कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि इटहरी उपमहानगरपालिकाका अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने भएका छन् ।

केही कर्मचारीमा कोरोना पुष्टि भएको र केहीमा कोरोना सँगै मिल्दोजुल्दो लक्षण देखिएकाले साउन १२ देखी १८ गतेसम्म कार्यालय बन्द हुने भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले सूचना जारी गर्दै सेवा बन्द हुने जानकारी गराएका हुन् । वडा कार्यालयबाट हुने आन्तरिक तथा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने सूचना पत्रमा उल्लेख गरिएको छ । यस बिचमा स्वास्थ्य सेवा, सरसफाइ, दमकल र भेटनरी सेवा मात्र उपलब्ध गराइने भएको छ ।

दोस्रो भेरियन्टको सङ्क्रमण बढेसँगै सुरु भएको लकडाउन खुल्ला भएको छ । लकडाउन खुल्ला भएपछि सङ्क्रमणको दर दिनानुदिन बढ्दै गएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ बताउँछन् ।

समुदाय स्तरमा फैलिएको सङ्क्रमण नियन्त्रण हुन लामो समय लाग्ने भए पनि लकडाउन खुल्ला हुँदा सङ्क्रमणको चेन ब्रेक हुन नपाएको उनको भनाई छ । पछिल्लो समय सङ्क्रमण बढ्दै गएपछि झापाको दमक, बिर्तामोड लगायत सहरहरूमा लकडाउन सुरु गरिएको छ ।

Itahari-Suchana