धरान : धरान उपमहानगरपालिकामा सोमबार धरानका विभिन्न ७ वटा खोप केन्द्रहरूबाट २ हजार ९ सय ५ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् ।

५५ वर्ष माथिको उमेर समूहका, प्राध्यापक, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, सार्वजनिक यातायातका चालक र सहचालक र विदेश जानेहरूलाई सो परिमाणको खोप लगाइएको हो ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान-५ मा १८५, धरान-८ मा ७९९, धरान-१३ मा ४००, धरान-१ मा ५३३, धरान-१५ मा ३९६, धरान-२० मा ६२ जना र धरान-१८ मा ५३० गरी १३८९ जना पुरुष र १५१६ जना महिला गरी २९०५ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् ।

कोरोना विरुद्धको खोप अभियान कार्यक्रम धरानमा साउन १६ गते सम्म जारी रहनेछ । साउन ११,१२ र १३ गते भेरोसेल र १४, १५ र १६ गते एक मात्रा लगाउँदा हुने जोनसन एण्ड जोनसन खोप लगाईदैछ ।

यस पटक खोप लगाउन सर्वसाधारण निकै उत्साहित भएको बताउँदै प्रमुख मेहेताले भने– यस पटक धरानमा १० हजारलाई कोरोना विरुद्धको खोप लगाईदैछ ।