इटहरी : राजतन्त्रवादी पार्टी शिव सेना नेपालले इटहरीमा राँके जुलुस निकालेको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्दै शिव सेनाले जुलुस निकालेको हो।

इटहरीको पश्चिम लाइनबाट सुरु भएको राँके जुलुसले एमसीसी मुर्दावादको नारा लगाउँदै इटहरी परिक्रमा गरेको हो । सरकार परिवर्तन भएसँगै एमसीसी पास हुनसक्ने भन्दै विरोध जनाएको शिव सेनाका मोरङ अध्यक्ष शतिस पोखरेलले बताए ।

१६ गते विराटनगरमा आयोजना हुन लागेको बृहत् विरोध प्रदर्शनको तयारी स्वरूप पहिला इटहरीमा सुरु गरिएको उनको भनाई छ। राजतन्त्र पुनर्स्थापित गर्नुपर्ने, हिन्दु राज्य कायम हुनुपर्ने लगायत माग सहित शिव सेनाले आफ्नो सङ्गठन बिस्तार गरिरहेको छ।

shiva-shena-julus

पछिल्लो राजनैतिक घटनाक्रमले नेपाली जनता आक्रान्त भएको भन्दै राजतन्त्र प्रति जनमत बढ्न थालेको उनीहरूको बुझाई छ । यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने नभए झन् ठुलो सङ्कट आउने पोखरेल बताउँछन् । पश्चिमाहरूले नेपालीको धर्म र संस्कृति माथि धावा बोलेको उनको आरोप छ।

एमसीसी मार्फत अमेरिकाले ५० करोड डलर बराबरको सहयोग नेपालमा गर्ने भएको छ । ट्रान्समिसन लाइन निमार्णको लागी भन्दै नेपाल सरकारले यसको लागी सहमति जनाए पनि एमसिसि सम्झौतामा सांसदबाटै पास हुनुपर्ने प्रावधान भएकोले यो विषय विचाराधीन अवस्थामा छ ।

पछिल्लो समय एमसीसी सम्झौताले नेपालमा अमेरिकी सेना आउने भन्ने बुझाई व्याप्त भएको कारण यसले मूर्त रूप लिन पाएको छैन । उता सरकार भने एमसिसि राष्ट्रवादी मुद्दा बन्दै गएपछि अहिले नै संसद्मा पेस गर्ने पक्षमा देखिँदैन ।