धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक माथि मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गर्ने प्रतिष्ठानका लेखा प्रमुख कमल कुमार रायमाझीलाई प्रतिष्ठानले कारबाही स्वरूप आर्थिक महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाइ सरुवा गरेको छ ।

प्रतिष्ठानका लेखा प्रमुख कमल कुमार रायमाझीले प्रतिष्ठानमा डीएम अध्ययनरत चिकित्सक डा. विप्लव कार्कीलाई निवासमै गएर गरेको दुर्व्यवहार तथा गालीगलौज गरेको भन्दै जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले उक्त घटनाका दोषीलाई कारबाही हुनुपर्ने मागसहित आन्दोलन गरिरहेको थियो । रायमाझीलाई प्रतिष्ठानले आन्तरिकरुपमै सहमति अनुसार कारबाही गरेपछि जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले पनि आफ्नो आन्दोलन स्थगित गरेको छ ।

जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले एक विज्ञप्ति जारी गरी मध्यमार्गी समाधान खोज्दै प्रतिष्ठानसँग भएको सहमतिलाई नै पूर्ण कार्यान्वयन गरेर सबै विषयलाई टुङ्ग्याइने सहमति भएको जनाएको छ । रायमाझीलाई २४ घन्टे स्पष्टीकरण सोधिएको र उनले २४ घण्टा भित्र सो को जवाफ दिँदै आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता सहित डा. विप्लबसंग याचना गरिएको ब्यहोराको स्पष्टीकरण पेस गरेको जनाइएको छ ।

प्रतिष्ठानले उनलाई चेतावनी सहित भविष्यमा यस्ता गल्ती गरेमा सुधारको मौका समेत नदिई तत्काल नियमावली बमोजिम कारबाही हुने ब्यहोराको लिखित चेतावनीयुक्त सचेत पत्र जारी गरेको छ । कारबाही स्वरूप आर्थिक महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाइ सरुवा समेत गरेको छ ।

डा. विप्लव कार्कीसँग व्यक्तिगत रूपमै लिखित तथा मौखिक माफी मगाउने कुरा प्रतिष्ठान प्रशासनले सुनिश्चित गरेपछि प्रहरीमा दायर जाहेरीलाई मेलमिलाप मार्फत समन्वय गरी टुङ्ग्याउने सहमति भएको सोसाइटीले जनाएको छ । रायमाझीलाई कारबाही भएपछि यो घटना प्रकरण यही टुङ्गिएको छ ।

Bigyapti 1