धरान : महिलालाई जर्वजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएपछि नेपाल प्रहरीका असर्ईले पक्राउ गर्नु अघि नै आत्मसमर्पण गरेका छन् ।

ट्राफिक प्रहरी पोस्ट भान्टाबारीमा कार्यरत जितेन्द्रनारायण मण्डल विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भए पछि पक्राउ गर्नु अघि नै इलाका प्रहरी कार्यालय इटहरीमा आएर मण्डलले आत्मसमर्पण गरेको इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

मण्डल विरुद्ध साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो। जिल्ला अदालत सुनसरीले मण्डल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। २३ वर्षीय महिलाले असई मण्डलविरुद्ध जबरजस्ती करणीको जाहेरी साउन ८ गते दिएकी थिइन् ।

जाहेरी दर्ता भएको खबर पाएपछि मण्डल हिजो आफै इलाका प्रहरी कार्यालय इटहरी पुगेका हुन् । महिलाले प्रहरीमा दिएको जाहेरीमा अन्तिम पटक ७७ चैत २८ गते इटहरी ६ स्थित अरुण होटेल एन्ड लजमा जबरजस्ती करणी गरेको उल्लेख गरेकी छिन् ।

त्यस अघि पनि मण्डलले आफूलाई श्रीमती बनाउने भन्दै ४ वर्षदेखि मण्डल सरुवा भएसँगै भोजपुर, झापा, इटहरी, लौहकीमा डेरा गरी राखेको महिलाको भनाई छ। मण्डलकै दबाबमा दुई पटक गर्भपतन समेत गराएको उनी बताउँछिन्। गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजात समेत आफूसँग रहेको महिलाको दाबी छ ।

महिला म्यानमारकी केटी हुन् । उनलाई आफ्नै मामाले धरानमा ल्याएर अलपत्र पारेको महिलाको भनाई छ । मण्डललाई म्याद थप गर्न अदालत पठाइएको सुनसरी जिल्लाका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । प्रहरीले अदालतसँग १० दिनको म्याद मागेको छ ।