धरान : जिल्ला प्रहरी कार्यालय खोटाङले वडा सदस्य सहित ३ जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ।

३ थान एकनाले भरुवा बन्दुक सहित पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका–१० पाथेका वडा सदस्य ५९ वर्षीय पर्शुराम बानियाँ, वर्षीय ६९ का मदन बहादुर बानियाँ र ३३ वर्षीय मिलन बानियाँ रहेको खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जानकारी दिए।

वडा सदस्य बानियाँ माओवादीकाका कार्यकर्ता हुने भने उनी ढुङ्गे फुर्के सामुदायिक बनका अध्यक्ष र सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन्।

भरुवा बन्दुक लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा छापा हान्दा तीन नाल भरुवा बन्दुक सहित उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ ।

प्रहरीले खानतलासी गर्दा पशुराम बानियाँको घरबाट एक नाल भरुवा बन्दुक, मदनबहादुरको घरबाट छर्रा बारुद लोड गरेको अवस्थाको भरुवा बन्दुक एक नाल सो धातुमा प्रयोग हुने १ सय ५० ग्राम धातुका छर्रा ,चार सय ग्राम सलाई र मिलन बानियाँको घरबाट छर्रा बारुद बरामद गरेको लम्सालले बताए।

पक्राउ गरिएका ३ जनालाई हातहतियार खरखजना सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट खोटाङबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।