धरान : धरान उपमहानगरपालिकामा कोरोना विरुद्धको खोप लगाउने समय दुई दिन थप भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरानमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या धेरै भएकोले थप खोप पनि धरान आइपुगेको र बुधवार पनि थप खोप आउने भएकोले थप २ दिन ५५ वर्ष उमेर समूह माथिका नागरिक, प्राध्यापक, शिक्षक, कर्मचारी, निजी सवारी चालक, सहचालकहरूलाई थप २ दिन चिनिया खोप भेरोसेल लगाइनेछ ।

दुई दिन भेरोसेल खोप लगाएपछि ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई एक मात्रा लगाउँदा हुने अमेरिकन खोप जोनसन एण्ड जोनसल खोप लगाइने प्रमुख मेहेताले बताए ।

खोप लगाउनेहरू धेरै भएकोले खोप केन्द्रमा कम भिड होस भन्ने उद्देश्यका साथ धरानको ७ वटा खोप केन्द्रबाटै खोप लगाइने बताइएको छ । ७ वटा खोप केन्द्रबाट यस पटक धरानमा १८ हजार बढीलाई कोरोना विरुद्धको खोप लगाइने बताइएको छ ।

धरानमा साउन ११ गते सोमबार देखि सुरु भएको कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम अन्तर्गत मंगलबार एकै दिन ५ हजार २ सय ९२ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् ।

मंगलबार धरानको ७ वटा खोप केन्द्रहरू छाताचोकमा ८२६, पाचकन्यमा ५२४, सभागृहमा १२००, विष्णुपादुकामा ८८, धरान १३ मा १०००, धरान १५ मा ६५४ र धरान १८ मा १००० गरी जम्मा २,८३१ जना पुरुष र २,४६१ जना महिला गरी जम्मा ५,२९२ जनाले एकै दिन खोप लगाएको महाशाखा प्रमुख मेहेताले जानकारी दिए ।