झापा : निरन्तर झरी पर्ने मौसम छ। पानी नपरेका बेला तालु नै पोल्ने गरीको घाम लाग्छ। घाम नै नलागे पनि मौसम हुप्प पर्छ । तातो हावा चल्छ। यसले तपाई हाम्रो शरीरमा एक छिनमा तातो एकै छिनमा चिसो बनाउँछ। यस्तो बेलामा तपाई हामीमा मौसमी रुघा खोकी लाग्ने, ज्वरो आउने वा निरन्तर खोकी पनि लाग्न सक्छ।

यी लक्षणहरू कोरोनासँग पनि मिल्नेखालका हुन । त्यसैले मौसमी रुघाखोकी अर्थात् फ्लु र कोरोना आफूमा के भएको हो भनेर आफू कसरी निश्चिन्त हुने ? आम्दा अस्पतालका जनरल मेडिसिन डा. चन्दन ठाकुरका अनुसार नाकबाट पानीजस्तै फोहोर पदार्थ निस्किरहने, नाक चिलाउने, आँखा चिलाउने, खोकी लाग्यो वा ज्वरो मात्र आएको छ भने त्यो मौसमी फ्लु हो । यो कम्तीमा ३ देखि ५ वा बढिमा ७ दिन सम्म चल्ने डा. ठाकुरको भनाई छ । तर कोरोना छ भने माथि भनिएका लक्षण सँगसँगै खाँटी सुख्खा हुने, ज्वरो निरन्तर आइरहने र यो निरन्तर ७ देखि माथि सम्म नै चलिरहेमा कोरोना हुन सक्छ।

पछिल्ला दिनहरूमा अलिअलि ज्वरो आयो, खोकी लाग्यो, रुघा मर्की लाग्यो भने कोरोना हो कि भनेर शङ्का सुरु हुन्छ । शङ्का गरेर सतर्क रहनु राम्रो भए पनि कतिपय चाहिँ अत्तालिने गर्नु हुन्छ । अत्तालिएर कोरोना परीक्षण गरिहाल्ने पनि अहिले बानी लाग्न थाल्यो। के मौसमी फ्लुका लक्षण देखिने बित्तिकै पनि कोरोना परीक्षण गरिहाल्नु पर्छ त भन्ने प्रश्नमा डा. चन्दनको जवाफ छ । ‘पर्दैन । तर आफू सुरक्षित र संयमित भएर चाहिँ बस्न पर्छ । बिस्तारै निको हुन्छ।’

तर मौसमी फ्लु त हो नि भनेर हेलचेक्राई गर्ने चाहिँ गर्न हुँदैन । यस्तो बेलामा सकेसम्म भिडभाडमा नजाने, मास्क अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात मिचिमिच धुने । हाछ्यू गर्दा कुइना वा रुमालले मुख छोप्ने चाहिँ गर्नुपर्छ । यसो गर्दा मौसमी फ्लुबाट पनि बचिने र अहिले महामरीका रूपमा देखिरहिएको कोरोनाबाट बच्न सकिने डा. ठाकुरले सुझाव दिनु भएको छ ।

मौसमी फ्लुका लक्षण देखिहालेमा आत्तिँदै अस्पताल जानै पर्छ भन्ने पनि छैन। अस्पताल क्षेत्र झन् जोखिम हो । सकभर अस्पताल नजाने । चिकित्सकसँग टेलिफोन गरेर परामर्श लिने र त्यही बमोजिमको आवश्यक मात्रामा औषधी सेवन गर्ने । साथै मन तातो पानी र झोलिलो खानेकुरा बढी मात्रामा खाने गर्दा घरमै बसेर मौसमी फ्लुबाट बच्न सकिन्छ र कोरोनाको जोखिममा पनि नपरिने चिकित्सकको सल्लाह छ।