धरान : मोरङको सुन्दरहरैचा-१० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते दिउसै लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

गत साउन १ गते मोरङस्थित सुन्दरहरैचा-१० त्रिवेणी चोकमा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहमा संलग्न रहेका मध्ये ५ जनालाई मोरङकै केराबारी क्षेत्रबाट मङ्गलवार राती पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

घटनामा संलग्न थप फरार व्यक्तिहरुकोे खोजी भइरहेको खनालले जानकारी दिएका छन् । प्रहरीले घटनाका मुख्य नाइके सहित ५ जनालाई पक्राउ गर्न सफल भएको तर, पक्राउ परेकाहरूको विवरण भने खुलाइएको छैन । प्रहरी निरीक्षक खनालले भने–'आज साँझ सम्ममा सबै जानकारी आइसक्ने बताएका छन् ।'

अहिले पनि आफू अप्रेसनमै रहेको बताउँदै लगभग सबैलाई प्रहरीले पक्राउ गर्न सफल भएको तर विवरण दिन नमिल्ने बताए । हतियारधारी समूहको खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं. प्रदेश प्रहरी कार्यालयको (रिट) समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टिम परिचालित भएको छ ।

१२ दिन पछि लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल र सो समूहले प्रयोग गरेको सवारी साधन सहित संयुक्त प्रहरी टोलीले ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ । पक्राउ परेको समूहलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।