धरान : मोरङ सुन्दरहरैँचाको एउटा सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहलाई मोरङ प्रहरीले पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।

सुन्दरहरैँचा नगरपालिका-१० मा खगेन्द्र थापाले आफ्नै घरमा सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा लुटपाटको असफल प्रयास गर्ने समूह अत्याधुनिक हतियार सहित मङ्गलवार राति पक्राउ गरी बुधवार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सङ्खुवासभाको सभापोखरी गाउँपालिका-४ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा डेरा गरी बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी र सङ्खुवासभाको बाह्रबिसे घर भई तरहरामा बस्दै आएका ३० वर्षीय चिरञ्जीवी राई रहेका छन् ।

त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा-७ का ३१ वर्षीय सन्तोष राई र भोजपुरको पैवादुम्मा गाउँपालिका-३ घर भई तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई पनि पक्राउ परेको मोरङका एसपी जनार्दन जिसीले बताए । उनका अनुसार प्रमोद बुधवार दिउँसो पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये चन्द्रबहादुर नेपाली सेनाको शेरजंग गणमा कार्यरत पूर्वजवान हुन् । तीन वर्षअघि उनले खोटाङदेखि जागिरबाट राजीनामा दिएको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको हतियार ल्याउने, व्यवस्थापन गर्ने र लुकाउने कामको नेतृत्व उनले गरेको पाइएको जिसीको भनाइ छ।

उनका अनुसार राईले हतियार भने कहाँबाट ल्याए भन्ने बारेमा अनुसन्धान जारी छ । त्यस्तै डायमन्ड भनिने प्रमोद चौधरी माओवादीका पूर्वलडाकु रहेको खुलेको छ । व्यक्ति हत्यामा संलग्न उनी सुनसरीबाट चलाइएको कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरेर डेढ वर्षअघि मात्रै छुटेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पूर्वलडाकु प्रमोद पूर्वाञ्चल सातौँ ब्रिगेडमा आबद्ध थिए।

पक्राउ परेकाहरूको साथबाट एउटा एसएमजी, त्यसको म्याग्जीन, ६२ राउन्ड गोली, कटुवा र अटोमेटिक गरेर दुई वटा पेस्तोल, एउटा म्याग्जीन, पेस्तोल र थ्री नट थ्री राइफलको दुई/दुई गरेर चार राउन्ड गोली तथा दुई वटा सञ्चार सेट बरामद भएको एसपी जिसीले बताए ।

उनका अनुसार को २ ह २७३६ नम्बरको अटो ट्याम्पो, प्रदेश १-०२-०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३ र को २१ प ६७०३ नम्बरका चार वटा मोटरसाइकल तथा विभिन्न ब्रान्डका आठ वटा मोबाइल बरामद भएको छ ।

घटनामा प्रयोग गरिएको हतियार सुन्दरहरैँचा-५ स्थित नमुना सामुदायिक वनमा रहेको करमको रुखको टोड्काभित्र कार्टुनमा लुकाएर राखेको अवस्थामा बरामद भएको जिसीको भनाइ छ। उनका अनुसार मोटरसाइकल प्रयोग गर्दा प्रहरीले पक्राउ गर्ने डरले लुटपाट प्रयास पछि घटनास्थल वरपरको अवस्था बुझ्नलाई यो गिरोहले अटो ट्याम्पोको प्रयोग गरेको पाइएको छ।

सुन्दरहरैचाका थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो। पक्राउ परेकाको साथबाट अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउन्ड जति विभिन्न हतियारका गोली बरामद भएको प्रहरीले जनाएको छ ।

लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतङ्कित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो । घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले खोजी तीव्र पारे पनि उक्त समूह फरार हुन सफल भएको थियो।

लुटपाटको प्रयास गर्ने हतियारधारी समूहको खोजीका लागि प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङको नेतृत्वमा इन्स्पेक्टर खनाल सहितको विशेष टोली परिचालन गरेका थिए।

प्रहरीको विशेष टोली घटना भएको १२ औँ दिनपछि उक्त गिरोहसम्म पुग्न सफल भएको हो । लुटपाट गर्न खोजिएको दृश्य सुनचाँदी पसलमा रहेको सिसी क्यामेरा फुटेजमा पनि कैद छ। पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो ।
लुटपाट प्रयास गर्ने गिरोहले अत्याधुनिक हतियार कहाँबाट ल्याएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।