धरान : धरानमा साउन १४ गतेदेखि लगाइने भनिएको कोरोना विरुद्धको अमेरिकन जोनसन खोप धरानमा स्थगित भएको छ ।

साउन १४, १५ र १६ गते तिन दिनसम्म कोरोना विरुद्धको खोप जोनसन लगाइने भनिएको थियो । मेयर तिलक राईका अनुसार भोलिदेखि लगाइने भनिएको जोनसन खोप जिल्ला स्वास्थ्य कार्यालयमा आई नपुगेको कारण स्थगित गर्नु परेको हो ।

मेयर राईले अब जिल्ला स्वास्थ्य कार्यालयमा खोप आइपुगेपछि मात्र धरानमा जोनसन खोप लगाइने जानकारी दिए । उनका अनुसार जोनसन खोप धरानमा ५ हजार आउने छ । आउँदो आइतबारसम्ममा जोनसन खोप आइपुग्ने बताइएको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार जोनसन खोप धरान आइपुगेपछि ५० वर्षदेखि ५४ वर्ष उमेर समूहकालाई लगाइने छ । साथै, जोनसन खोप अति अशक्त अपाङ्गता भएका नागरिकहरू, स्वास्थ्य संस्थामा कार्यरत छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई लगाइने छ ।

यस्तै, साउन १२ गतेदेखि लगाउन सुरु गरिएको चाइनिज भेरो सेल खोप आज सकिएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार १२ गतेदेखि सञ्चालन गरिएको धरानमा ११ हजार नागरीहरूले भेरो खोपको पहिलो मात्रा लगाएका छन् ।

पहिलो दिन २९०५, दोस्रो दिन ५२०० सय र तेस्रो दिन बुधवार २८७४ जनाले खोप लगाएको स्वास्थ्य महाशाखाले जनाएको छ । धरानमा सात स्थानमा खोप केन्द्र तोकिएको थियो । जोनसन खोप आइपुगेपछि सूचना जारी गरेर सोही खोप केन्द्रमा लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।

सुनसरीमा जहाँ जहाँ भेरोसेल खोप मौजाद छ त्यहाँ खोप कार्यक्रम जारी रहने र सकिएको पालिकाहरूमा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए ।