धरान : धरान-५ तल्लो देउरालीको सुन्दर बस्ती बस्ने विनोद लिम्बुको शव उनकै घरको खानेपानीको टङ्कीमा फेला परेको छ ।

मृतक लिम्बु इजरायलबाट फर्केपछि धरान ५ मा घर बनाएर बसेका थिए। उनले इजरायलकै प्रविधि अपनाएर तरकारी खेती गर्दै आएका थिए । मृतकको पत्नी हाल इजरायलमा नै रहेको र उनी घरमा एक्लै बस्दै आएको माओवादी नेता चोत्लुङले जानकारी दिए ।

परिवारका अन्य सदस्यहरू धरानको भोटेपुलमा बस्दै आएका छन्। परिवारसँग सम्पर्क नभए पछि आफन्तजन आएर बिनोदलाई खोजी गर्दा घर पछाडि रहेको सानो गार्डेनको छेउमा रहेको खानेपानीको टङ्की नजिकै रगतको टाटा, छुरी र एउटा सलाई फेला परेको थियो ।

शङ्का लागि खानेपानीको टङ्कीमा हेर्दा विनोदको शव टङ्कीमा आफन्तले भेटेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको बताइएको छ। यो समाचार तयार पारुन्जेल राति साढे ९ बजे सम्म पनि प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको घटनास्थल पुगेका नेता चोत्लुङले बताए ।

घटना शङ्कास्पद रहेको बताइएको छ । नेता चोत्लुङका अनुसार मृतक धनकुटाका पूर्व सांसद मोहिन सुब्बाको जेठो छोरा हुन् । यो घटनाको बारेमा भने धरान प्रहरीले केही बताएको छैन । प्रहरीको तालिम प्राप्त कुकुर लगेर अनुसन्धान सुरु भएको बताइएको छ।