धरान : सरकारले साउन ११ गते देखि सुरु गरेको कोरोना विरुद्धको खोप अभियान अहिले आएर सुनसरी लगायत केही स्थानीय निकायहरूमा स्थगित भएको छ ।

स्थगित हुनुको मुख्य कारण प्रदेश १ मा आएको चाइनिज भेरोसिल खोप सकिएर हो । खोप अभियानको क्रममा दुई डोज लगाउने चाइनिज भेरोसिल खोपको पहिलो मात्रा १ लाख ६९ हजार ८५ भायल अर्थात् एक भायल बरावर २ जनालाई लगाउन पुग्ने २ लाख १३ हजार ९ सय ७० जनालाई लगाउन पुग्ने आएकोमा प्रदेश १ को सबै पालिकाहरूमा ५५ वर्ष उमेर समूहका सबै नागरिकहरू, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी र यस भन्दा अघि छुटेका अग्रपंत्तीमा खटिनेहरू, निजी सवारी साधनका चालक र सहचालकलाई लगाउने मापदण्ड तोकेर पठाइएको थियो ।

प्रदेश १ का करिब ३ हजार खोप केन्द्रहरूबाट भेरोसिल खोप लगाइएको छ । केही पालिकाहरूमा भेरोसिल खोप अझै लगाइँदै गरिएको स्वास्थ्य निर्देशनालय प्रदेश १ का खोप अधिकृत उदेश श्रेष्ठले जानकारी दिए ।

पहिलो मात्रा लगाइने भेरोसिल खोप अझै लगाइँदै गरिएकोले तुरुन्त अमेरिकन खोप एक डोज मात्र लगाए हुने पठाएमा समस्या हुने भएकोले सबै तिर भेरोसिल खोप सकिए पछि अमेरिकन खोप जोनसन एण्ड जोनसन पठाई लगाउन सुरु गर्ने अधिकृत श्रेष्ठले बताए ।

प्रदेश १ मा एक डोज मात्र लगाए पुग्ने अमेरिकन जोनसन एण्ड जोनसन खोप ४८ हजार ८ सय ४० भायल आएको स्वास्थ्य निर्देशनालय प्रदेश १ ले जनाएको छ ।

१ भायल बराबर ५ जनालाई लगाउन पुग्ने सो खोप २ लाख ४४ हजार २ सय जनालाई लगाउन पुग्छ । खोप आइसकेको छ, भेरोसिल खोप नसकी पठाउँदा समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गरी अहिले नपठाइएको श्रेष्ठले बताए ।

सबै तिर चाइनिज खोप भेरोसिल लगाउन सकिएपछि एक दुई दिन भित्रै प्रदेश १ भित्रका सबै पालिकाहरूमा अमेरिकन जोनसन एण्ड जोनसन खोप पठाई ५० देखि ५५ वर्ष उमेर समुहकाहरुलाई खोप लगाइने अधिकृत श्रेष्ठले बताए ।