इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले लागुऔषध तथा मोबाइल चोरी नियन्त्रणमा प्रगति गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को विवरण अनुसार इटहरी प्रहरीले चोरी नियन्त्रण तथा लागुऔषध दुर्व्यसन बिरुद्धको अभियानमा उल्लेख्य सुधार गरेको हो ।

अघिल्लो आबमा चोरी भएका १७८ वटा मोबाइल सेटहरू सम्बन्धित धनीलाई फिर्ता गरेको छ । यस बिचमा लागुऔषधमा संलग्न युवाहरू सबैभन्दा धेरै पक्राउ परेका छन् । सुनसरी भरी नै लागुऔषधका कारेबारीहरु पक्राउ पर्ने क्रम बढिरहेको जारी छ ।

प्रहरीका अनुसार गत आबमा लागु औषध सेवन तथा कारोबारमा संलग्न ४९ जना पुरुष पक्राउ परेका छन् । उनीहरूबाट २९९ ग्राम २४० मिली ग्राम ब्राउन सुगर, २२ केजी ९२२ ग्राम गाँजा, १७०१ ट्याव नाइट्रोजन लगायत विभिन्न लागुऔषध बरामद गरिएको छ ।

चोरीमा संलग्न ६९ जना पुरुष र २ जना महिला पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । हालसम्म १२ वटा मोटरसाइकल, एउटा कार, ७ थान साइकल, एउटा सिटी सफारी, १२ थान मोबाइल, २ थान ल्यापटप, १७ थान ब्याट्री, ८ तोला ८ आना सुन र २ लाख २९ हजार ७ सय रुपैयाँ बरामद गर्न सफल भएको प्रहरीको रिपोर्टमा उल्लेख गरिएको छ ।

२०७७ असोज २९ गते इटहरी १२ खनारबाट हराएको पुष्प नारायण चौधरीको ९ च ३४०३ नं. को कार २१ दिन पछि चोर सहित नियन्त्रणमा लिएको हो । कार भेटाएपछि चौधरीलाई कार फिर्ता गरी चोरीमा संलग्नलाई कानुनी कारबाही अगाडी बढाइएको छ ।

निक्कै प्रख्यात अलैँची चोरी काण्डमा पनि इटहरी प्रहरीले सफलता पायो । खोटाङ साकेला २ का रञ्जित राईले इटहरी-५ मा भण्डारण गरेको १५० मन अलैचि चोरी भएपछि प्रहरीले सक्रियता बढायो । पछि नक्कली नागरिकताको प्रयोग गरी सिम निकालेर अलैँची विक्री गर्ने तयारीमा रहेका सरोज बोहोरा, कमल थापा , केशव दाहाल, मात्रिका प्रसाद पोखरेललाई पक्राउ गर्न प्रहरी सफल भयो ।

इटहरी-१० का ३२ बर्षीया कृष्ण ढकाललाई कुटपिट गरी घाइते बनाइएको र पछि उपचारको क्रममा मृत्यु भयो । सोही घटनामा संलग्न मध्ये २ जना भारतमा लुकिछिपी बसिरहेको अवस्थामा भारतीय प्रहरी सँगको समन्वयमा पक्राउ परेका थिए ।

आव ०७७/७८ मा सडकलाई आश्रय स्थल बनाई आपराधिक क्रियाकलापमा संलग्न ९ जना सडक बालबालिकालाई इलाका प्रहरी कार्यालय इटहरीले उद्धार गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सचेतनाका लागि स्कुल सम्पर्क कार्यक्रम, मास्क वितरण, टोल समिति गठन, सडक नाटक, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम, सरसफाइ कार्यक्रम, रक्तदान कार्यक्रम गरी जम्मा ७१ वटा कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधन तथा व्यक्तिहरूबाट ६ लाख ९६ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन गरी तालुक जिल्ला प्रशासन कार्यालय

यस बिचमा ७७ लाख ६४ हजार ७२६ रुपैयाँ बराबरको भन्सार तथा राजश्व छलिका सामान बरामद गरेको छ । फैसला कार्यान्वयनको क्रममा १५ जना प्रतिवादी पक्राउ गरिएको र जसबाट जम्मा १८ वर्ष १ महिना २७ दिन कैद र रु. ५ लाख ९१ हजार ५५० रुपैयाँ जरिवाना असुल उपर भएको छ । यस आ.ब.मा ४१३ मुद्दा दर्ता भएको ४२९ पक्राउ गरेको र ३१७ वटा मुद्दा फर्च्छौट गरेको प्रहरीले जनाएको छ ।