विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन् ।

विज्ञहरूले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएका हुन् । कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले निर्देशन दिएकी हुन् ।

मन्त्री राईले भनिन् ,‘ हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट कसैलाई छैन ।’ कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारीमा रहन निर्देशन दिँदै मन्त्री राईले समस्या र चुनौतीको सबैले मिलेर मात्रा समाधान गर्न सकिने बताइन् । कोरोना परास्तका लागि सबै एकजुट भए मात्र सम्भव हुने उनले बताइन् ।

मन्त्री राईले अस्पतालको क्षमता अनुरूप कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् ।

मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सबै पालिकाहरूको अवस्था, आवश्यकता र तयारी सहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरी आवश्यक तयारी सहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेस गर्न निर्देशन दिएका हुन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँ, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरू, सदरमुकामका पालिकाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।