विराटनगर : विराटनगर–५ मा बुधवार राती महानगरका मेयर भीम पराजुलीले मापदण्ड विपरीत खोप लगाइदिएको विषयमा नेकपा एमाले महानगर कमिटीले भर्त्सना गरेको छ ।

नेकपा एमाले महानगर कमिटीका अध्यक्ष सागर थापाले शुक्रवार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । बुधवार राती मेयरको नेतृत्वमा विराटनगर–५ का नेपाली काँग्रेसका बुथ सभापति विमलराज भण्डारीको घरमा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउँदै गरेको अवस्थामा स्थानीय बासीले मेयरलाई लखेटेपछि घटना सार्वजनिक भएको थियो ।

सोही घटना पछि आम महानगरवासीको भावनामाथि खेलवाड गरेको प्रतिक्रिया दिँदै थापाले घटनाको निन्दा गरेका हुन । उनले विज्ञप्ति मार्फत घटनाको छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

आफै गएर खोप लगाउन निर्देशन दिने, उभिएर हेर्ने, आसेपासेलाई बोलाउने अनि म गएको छैन भन्दै वक्तव्यवाजी गरेर घटना लुकाउने प्रयत्न प्रति पनि विज्ञप्तिमा खेद व्यक्त गरिएको छ ।

नेकपा एमालेको सरकार हुँदै ल्याइएको खोपलाई पूर्वाग्रह साँधेर आफ्नै आसेपासेलाई घर घरमा लगाइदिने घटनाले लज्जित बनाएको थापाले बताए । उनले आजै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईलाई समेत विराटनगरमा थप खोप उपलब्ध गराउनका लागि माग गरेका छन् । उनले भेटेरै त्यस्तो माग गरेका हुन ।

विज्ञप्तिमा कोरोनाबाट ज्यान गुमाएका नागरिक प्रति समवेदना प्रकट गर्दै उपचारार्थ रहेका नागरिकको स्वास्थ्य लाभको कामना गरेका छन् ।