धरान : असार १५ दही-चिउरा , साउन १५ खीर“ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ ।

हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ । आज साउन १५, घरघरमा खीर र मिष्ठान्न परिकार खाएर यो पर्व मनाइँदै छ ।

तीज, श्राद्ध, देवाली, व्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्धक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने चलन रहेको छ ।

साउन महिना वर्षातको समय भएकाले विभिन्न रोगहरूबाट छुटकारा पाउनका लागि दूधबाट बनेको पोसिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले यो खाने प्रचलन बसेको हो ।

बर्खायाममा विभिन्न सङ्क्रमण रोग लाग्ने गर्दछ, सङ्क्रमणबाट बच्न खिर खाने गरेको पाइन्छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्दछ । खीर उच्च क्यालोरी भएको खाना हो ।

दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो ।

यसरी घरमै बनाउनुहोस् खीर :
भिजाएको चामल, मन तातो दूध, घ्यू, चिनी, दूध, दालचिनी, सुकुमेल, ल्वाङ तथा ड्राई फुडको रूपमा नरिवल, बदाम, किसमिस तथा काजु प्रयोग गर्न सकिन्छ ।

खीरलाई कराई प्यानमा अथवा भाँडामा पकाउन सकिन्छ । यसका लागि आगोमा भाँडो बसाई सकेपछि केही बेर त्यसलाई तताउने र त्यसमा एक चम्चा घ्यू हाल्नुपर्छ तर याद राख्नुहोस् आगो (हिट) मध्यम हुनुपर्छ ।

घ्यू तातिसकेपछि त्यसमा भिजाइएको चामल हालेर ३ मिनेटसम्म भुट्नुपर्छ । चामल केही बेर भुटिई सकेपछि भने त्यसमा मनतातो दूध हाल्नुपर्छ ।

उदाहरणका लागि एक कप भिजाएको चामलको लागि ५ कप दूध आवश्यक पर्छ । आफूले कति खीर पकाउन खोजेको हो त्यसै अनुसार चामल र दूधको मात्रा बढाउन सकिन्छ ।

केही बेर भुटेको चामलमा दूध हालिसकेपछि त्यसलाई डढ्न नदिन १५ मिनेट सम्म निरन्तर चलाई रहनुपर्छ । यसो गर्दा खीर पाक्दै जानुका साथै बाक्लो पनि हुँदै जान्छ ।

जब खीरमा बाक्लो हुँदै जान्छ र सुक्नलाई थोरै दूध मात्र बाँकी रहन्छ तब त्यसमा अघि तयार पारिएर राखिएको ड्राई फुड र चिनी हालेर ३ देखि ५ मिनेटसम्म चलाउनुपर्छ । ड्राई फुडलाई टुक्रा बनाएर वा कोरेर धुलो बनाएर हाल्न सकिन्छ । यसरी स्वादिष्ट खीर तयार हुन्छ र खान योग्य बन्छ ।