धरान : धरानमा सर्वदलीय बैठक बसी धरानमा खोप कार्यक्रमलाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।

मेयर तिलक राईको अध्यक्षतामा शुक्रवार कोरोना विरुद्धको खोप अभियान सम्बन्धमा धरान उपमहानगरपालिकामा सर्वदलीय बैठकमा सो निर्णय भएको हो । धरानमा अब केही दिन भित्रमा अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदै छ ।

धरानमा गएको सोमबार, मंगलबार र बुधवार तीन दिन चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । यो खोप ५५ वर्ष उमेर भन्दा माथि र विभिन्न लक्षित समूहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका छन् ।

बैठकमा तिन दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा थुप्रै कमीकमजोरीहरू भएको विषयमा समीक्षा समेत गरिएको थियो । सर्वदलीय बैठकले आगामी खोप कार्यक्रमलाई सरल र सहज बनाउने निर्णय पनि गरेको छ ।

७ वटै खोप केन्द्रहरूमा राजनीतिक दलहरूबाट समेत अनुगमनका लागि १÷१ जना प्रतिनिधि पठाउने, ७ वटै खोप केन्द्रहरूमा सम्बन्धित वडाको १/१ जना जनप्रतिनिधि रहने समेत व्यवस्था गर्ने निर्णय गरेको छ । खोप केन्द्रहरूमा लक्षित समूहका वडावाईज अलग÷अलग लाइन लगाएर खोप लगाइने व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै, खोपलाई व्यवस्थित गर्न २० वटै वडाका वडाध्यक्षहरुकोे अध्यक्षतामा राजनीतिक दलको प्रतिनिधिसहितको संयन्त्र (समिति) बनाई लक्षित समूहको तथ्याङ्क सङ्कलन, खोप केन्द्र व्यवस्थापन गर्न समेत निर्णय भएको छ । साथै, नगरपालिकालाई सुझाव दिने गरी वडा समितिलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा उपमेयर मञ्जु भण्डारी, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी, राष्ट्रिय जनमुक्ति, सङ्घीय लिम्बुवान, नेकपा माले, राप्रपा नेपालका नेताहरूको उपस्थिति रहेको थियो ।