धरान : स्वास्थ्य कार्यालय झापाले कोरोनाविरुद्धको खोप होटलमा लुकाएको भन्ने आरोप गलत भएको बताएको छ।

स्वास्थ्य कार्यालयले कोरोना विरुद्धको खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । बिर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा बिर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसेल खोपसहित हिजो नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए ।

“बिर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका खोप प्राविधिक बालकृष्ण भण्डारी र कर्मचारी विशाल घिमिरेलाई १०३ भाइल खोप पठाएका थियौँ”, कार्यालय प्रमुख घिमिरेले भने 'इएलएमआइएस प्रणालीमा दर्ता गरेर इमेलसमेत गरेर हामीले वैधानिकरुपमा खोप पठाएका हौँ, तर खोप होटलमा लुकाइयो भनेर अफवाह फैलाइयो ।'

उनले खोपअभियानमा संलग्न स्वास्थ्यकर्मी खाजा खान होटलमा रहेका बेला खोप पुगेको हुँदा स्वास्थ्य कार्यालयका कर्मचारीले बिर्तामोडको टाइमलेस होटलमै नगरका फोकलपर्सन खड्कालाई खोप बुझाएको जानकारी दिए ।

नगरपालिका कार्यालयको साटो होटलमा खोप बुझाउनु र बुझ्नु कमजोरी भएको स्वीकार गर्दै प्रमुख घिमिरेले भने– अबदेखि यस्तो गल्ती दोहोरिन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

हिजो अपराह्न ४ बजेतिर स्थानीय युवाले होटलमा खोप राखिएको विषयमा विवाद गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले सो खोप र नगरका स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर जिल्ला स्वास्थ्य कार्यालयमा बुझाएको थियो ।

फोकलपर्सन खड्कालाई आज जिल्ला प्रशासन कार्यालयमा छलफलमा उपस्थित हुने सर्तमा घर पठाइएको र प्रहरी नियन्त्रणमा रहेको सो खोपलाई स्वास्थ्य कार्यालयको स्टोरमा राखिएको कार्यालय प्रमुख घिमिरेले बताए । उनका अनुसार झापा जिल्लामा ६३ हजार ५०० भेरोसिल खोप आएको र सबै खोप स्थानीय तहमा पुर्‍याएको बताए ।

यसैबिच बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बिहान विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

होटेलमा खोप लुकाएको आरोपमा पक्राउ परेका नगरपालिकाका कोभिड पर्सन ओमबहादुर खड्कालाई प्रहरीले शुक्रवार बेलुका नियन्त्रणमा लिएको थियो ।

खड्कालाई प्रहरीले बिना कारबाही राति नै छाडिदिएको विरोधमा स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी सङ्घ झापा र अखिल क्रान्तिकारी झापाले नगरपालिका कार्यालयमा संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

खडकालाई कारबाहीको माग गर्दै तालाबन्दी गरेपछि नगरपालिका परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।