धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी आन्दोलन प्रति सत्तारुढ दल सम्बद्ध पाँच विद्यार्थी सङ्गठनले समर्थन जनाउँदै प्रधानमन्त्री सेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

आज सत्तारुढ दल सम्बद्ध विद्यार्थी सङ्गठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै प्रतिष्ठानमा बेथिति र भ्रष्टाचार बढेकाले पदाधिकारीलाई पदमुक्त गर्न माग समेत गरेका छन् । प्रतिष्ठानको सुद्धिकरणको माग गर्दै चिकित्सक, कर्मचारी, विद्यार्थी र नर्सले गत असार १ गते देखी आन्दोलन जारी राखेका छन् ।

विद्यार्थी सङ्गठनका नेताहरूले पदाधिकारीको गतिविधि, भ्रष्टाचार अनि बेथितिले पठनपाठनसँगै स्वास्थ्य उपचार प्रभावित भएको भन्दै तत्काल ठोस कदम चाल्न पनि उनीहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री भेट्न पुगेका सत्तारुढ गठबन्धन निकट नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोख्रेलले त्यस्तो माग राखेका हुन् ।

प्रधानमन्त्रीले आफू प्रतिष्ठानको विषयमा गम्भीर भएको बताएका थिए । देउवाले प्रधानमन्त्री कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकमा आएको ९ जनाको टोलीले बुझाएको प्रतिवेदनबारे थप छलफल हुने समेत बताएको सङ्गठनको टोलीले जनाएको छ ।