धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारको माग गर्दै आन्दोलन गरिरहेको संयुक्त संर्घर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ७२ घण्टाभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ ।

शनिवार सिट्ठी जुलुस गर्दै संयुक्त सङ्घर्ष समितिले सो अवधिभित्र माग पूरा नभए आइतबार देखी इमरजेन्सी र कोभिड अस्पताल बाहेकको सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

प्रतिष्ठानमा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै गत असार १ गतेबाट आन्दोलन जारी रहेको छ । प्रधानमन्त्री कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजनमा प्रतिष्ठानको वार्तामा आएको ९ जनाको टोलीले प्रधानमन्त्री कार्यालयमा बुझाएको प्रतिवेदन थन्किएको र अख्तियारले पनि प्रतिष्ठानका खरिद सम्बन्धी विलहरू जफत मात्र गर्ने तर, कारबाही नगर्ने गरेकोमा पनि उनीहरूले आपत्ती जनाएका छन् ।

संयुक्त सङ्घर्ष समितिले जारी गरेको विज्ञप्तिमा ७२ घण्टा भित्र हाम्रो मागहरू सम्बोधन गर्ने उपयुक्त आधार र वातावरण तयार नभए वा गरिएमा निकट भविष्यमै इमरजेन्सी र कोभिड अस्पतालका सेवाबाहेक सबै सेवा पूर्णरुपले ठप्प पार्ने उल्लेख छ ।

जारी विज्ञप्तिमा कालो पट्टी बाँधेर काममा सहभागी भई विरोध प्रदर्शन गर्ने, आइतबार देखी प्रतिष्ठानको एकाडेमिक डीन अफिसमा तालाबन्दी गर्ने र यसपछि पनि माग सम्बोधन नभएमा इमर्जेन्सी र कोभिड लगायतका सेवा समेत बहिस्कार गर्न बाध्य हुनुपर्ने लगायतका कुरा उल्लेख गरिएको छ ।

Bigyapti-bp