इटहरी : मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) को विरोध गर्दै राजतन्त्रवादी युवाहरूले सडक प्रदर्शन गरेका छन् । ‘ एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’ भन्दै शनिवार प्रदर्शन भएको हो ।

इटहरीबाट विराटनगर पुगेको विरोध र्‍यालीले विराटनगर बजार परिक्रमा गरेको हो । शिव सेनाका मोरङ अध्यक्ष सतिस पोखरेलका अनुसार १ हजार युवाहरू र्‍यालीमा सामेल भए । एमसीसी मार्फत नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै विरोध जनाइएको उनले बताए ।

यस अघि इटहरीमा राँके जुलुस निकालेको शिव सेनाले राजमार्ग लगायत भित्री सडकमा पनि नो एमसीसी भन्दै विरोध जनाउँदै आएको छ । यस बिचमा ‘नेपाल बचाउ अभियान’ नामको संस्थाले पत्रकार सम्मेलन नै गरेर विरोध जनाएको थियो । संस्थाका संयोजक राधेश्याम पौडेलले राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा कार्यान्वयन नहुने तर्क गरेका छन् ।

शिव सेनाले राजतन्त्र पुनर्स्थापित गर्नुपर्ने, हिन्दु राज्य कायम हुनुपर्ने लगायत माग अगाडी सारेको छ । पछिल्लो राजनैतिक घटनाक्रमले नेपाली जनता आक्रान्त भएको भन्दै राजतन्त्र प्रति जनमत बढ्न थालेको उनीहरूको बुझाई छ । यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने नभए झन् ठुलो सङ्कट आउने पोखरेल बताउँछन् । पश्चिमाहरूले नेपालीको धर्म र संस्कृति माथि धावा बोलेको उनको आरोप छ ।

एमसीसी मार्फत अमेरिकाले ५० करोड डलर बराबरको सहयोग नेपालमा गर्ने भएको छ । ट्रान्समिसन लाइन निमार्णको लागी भन्दै नेपाल सरकारले यसको लागी सहमति जनाए पनि एमसीसी सम्झौतामा सांसदबाटै पास हुनुपर्ने प्रावधान भएकोले यो विषय विचाराधीन अवस्थामा छ ।

पछिल्लो समय एमसीसी सम्झौताले नेपालमा अमेरिकी सेना आउने भन्ने बुझाई व्याप्त भएको कारण यसले मुर्त रूप लिन पाएको छैन । उता सरकार भने एमसीसी राष्ट्रवादी मुद्दा बन्दै गएपछि अहिले नै संसद्मा पेस गर्ने पक्षमा देखिँदैन ।

mcc-birod-biratnagar