धरान : विदेश जाने सुनसरीका नागरिकहरूलाई एक मात्रा लगाउने अमेरिकन कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप आज र भोलि जिल्ला अस्पताल इनरुवामा लगाईदैछ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले दिएको जानकारी अनुसार एक मात्रा लगाए पुग्ने जोनसन एण्ड जोनसन खोप विदेश जानेहरुले राहदानीको फोटोकपी र भिसाको फोटोकपी सहित उपस्थित भई जिल्ला अस्पताल इनरुवामा  खोप लगाउन सक्नेछन् ।

साउन १७ र १८ गते बिहान साढे १० बजे देखि अपराह्न ४ बजे सम्म खोप लगाउन पाउनेछन् । केही मात्रा अमेरिकन खोप जोनसन एण्ड जोनसन सुनसरी आइपुगेकोले विदेश जानेहरूलाई खोप अनिवार्य गरिएकोले उनीहरूलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।