धरान : स्वास्थ्य कार्यालय सुनसरीमा कोरोना विरुद्धको थप ११ हजार चाइनिज भेरोसिल खोप  आइपुगेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले दिएको जानकारी अनुसार साउन ११ गते देखि सञ्चालन गरिएको भेरोसिल खोप लगाउने क्रममा केही पालिकाहरूमा तोकिएको उमेर समूह र लक्षित समूहलाई खोप नपुगेकोले थप ११ हजार भेरोसिल खोप स्वास्थ्य कार्यालय सुनसरी आइपुगेको हो ।

थप आएको ११ हजार भेरोसिल खोप अस्ति छुटेका उमेर समुहकाहरु, लक्षित बर्गहरु, वित्तीय संस्थाका कर्मचारीहरू, निजामती कर्मचारीहरूलाई लगाइनेछ । जस अनुसार धरान उपमहानगरपालिकामा ३ हजार, इटहरी उपमहानगरपालिकामा ४ हजार, इनरुवा नगरपालिकामा २३ सय र दुहबी नगरपालिकामा १६ सय खोप आजै पठाइसक्ने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका यी चार पालिकाहरूले खोप पाएपछि लक्षित उमेर समूह र तोकिएका समूहलाई खोप लगाउने प्रमुख प्रसाईँले बताए । थप खोप आउन लागेको बताउँदै धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले आज बैठक बसेर खोप अभियानको बारेमा निर्णय हुने बताएका छन् ।

नेपालमा पछिल्लो समय कोरोना विरुद्धको खोप आउने क्रम जारी रहेकोले तुरुन्त उपलब्ध भएको खोप लगाई अर्को खोप अभियान सञ्चालन गर्नुपर्ने भएकोले अव खोप अभियानले तीव्रता पाउने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रशासनले बताए ।

चाइनिज भेरोसिल खोप सबै तिर लगाइसकेपछि तुरुन्त अमेरिकन एक डोज मात्रा लगाउँदा पुग्ने जोनसन एण्ड जोनसन खोप लगाइने कार्यक्रम रहेको प्रमुख प्रसाईँको भनाई छ ।