धरान : सुनसरीमा पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमणको ग्राफ पनि उकालो लाग्न थालेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार वैशाख २५ देखि ३१ गते सम्मको तथ्याङ्कलाई हेर्ने हो भने एक साताको अवधिमा १२७३ जनामा सङ्क्रमण देखिएको थियो । जेठ ८ गते देखि १४ गते सम्म सबै भन्दा उच्च १५७१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

निषेधाज्ञा कडा पारिएसँगै स्वास्थ्य कार्यालय सुनसरीको ग्राफलाई हेर्ने हो भने जेठ २८ देखि असार ४ गते सम्मको एक साताको तथ्याङ्क पुरै झरेर ७०९ मा पुगेको थियो । बिस्तारै निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक यातायात खुले पछि असार १२ देखि १८ गते सम्ममा फेरि कोरोना सङ्क्रमणको ग्राफ उकालो लागेको देखिन्छ ।

असार २६ देखि साउन १ गते सम्ममा फेरि कोरोना संक्रमणदर बढेर कोरोनाको ग्राफ जिल्लामा १०८६ देखि अहिले पछिल्लो ग्राफ साउन ९ देखि १५ सम्ममा १११२ पुगेर कोरोना सङ्क्रमणको ग्राफ उकालो लागेको देखिएको छ ।

यसरी फेरि सुनसरीमा कोरोना संक्रमणदर बढ्नुको मुख्य कारण सर्वसाधारणको अटेरीपन, मास्क नलगाई हिडने, बढी भिडभाड हुने ठाउँमा बाक्लो जमघट हुनु र सार्वजानिक सवारी साधनमा अलिकति पनि स्वास्थ्य मापदण्ड पालना नगर्नुले भएको बताइएको छ ।

सरकारले जारी गरेको मापदण्डहरूलाई कडाइका साथ पालना नगर्नु र पालना नगराउनुले पछिल्लो समय फेरि कोरोना संक्रमणदर बढ्दै गएको स्वास्थ्य विज्ञहरूको भनाई छ । यसरी कोरोना सङ्क्रमणको ग्राफ उकालो लागि रहेको बेलामा समयमै सतर्कता अपनाइएन भने कोरोना महामारीले ठुलो समस्या सिर्जना गर्न सक्ने देखिन्छ ।