धरान : अवैध रूपमा खोला उत्खनन गरिरहेको अवस्थामा धरानको सर्दु खोलाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

धरान-१७ स्थित धरान-चतरा सडक मार्गको सर्दु खोला पुलमुनि पिल्लर नजिकबाट अवैध रूपमा नदीजन्य पदार्थ रोडा, ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी, इलाका प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले हिजो (शनिवार) बेलुका ५ बजे दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

नगर प्रहरीका अनुसार स १ त ५२९४ र को २ त ६५१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि धरान उपमहानगरपालिकामा बुझाइएको छ । ट्याक्टर कसको भन्ने खुलिसकेको छैन । सशस्त्र प्रहरी, इलाका प्रहरी र नगर प्रहरीको संयुक्त टोलीलाई देखेपछि ट्याक्टरको चालक, सहचालक भने फरार भएको जनाएको छ ।

अवैध रूपमा खोला उत्खनन गर्ने जुनसुकै सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडी बढाइने सुरक्षा निकायले जनाएको छ । यसरी प्राकृतिक स्रोतको संरक्षणका लागि साधा पोसाकमा समेत सुरक्षाकर्मी समेत खटिएको बुझिएको छ।