धरान : पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणदर पनि उच्च हुन थालेको छ ।

कोरोना संक्रमणदर उच्च हुन थाले सँगै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पनि बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिए देखि बिरामीको सङ्ख्या बढ्दै गएको भए पनि बिचमा निषेधाज्ञा कडा हुँदा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या पनि घट्दै गएको थियो ।

अहिले भने फेरि सङ्क्रमित बिरामी भर्ना हुने क्रम बढेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालका फोकल पर्सन डा. विकास शाह बताउँछन् ।

उनका अनुसार अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ५९ जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएर उपचार गराइरहेका छन् ।

जस मध्ये ३ जना भेन्टिलेटरमा र अरू ३ जना आइसियु र विशेष उपचार कक्षमा उपचार गराइरहेका छन् भने बाँकी अक्सिजन बेडमा उपचाररत रहेका छन् । गए राति सम्मको बिरामीको तथ्याङ्कलाई हेर्ने हो भने ५९ जना बिरामी मध्ये १ जनाको मृत्यु भएको छ भने उपचारका लागि भर्ना हुनेको सङ्ख्या बढिरहेको डा.शाहले बताए।

पछिल्लो समय कोरोनाको डेल्टा भेरिअन्ट फैलिएको बताइरहँदा संक्रमणदर पनि बढेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । यो भेरिअन्ट एकै पटक धेरैमा तीव्र रूपमा सङ्क्रमण हुने भएकोले पछिल्लो समय कोरोना संक्रमणदर पनि बढेको बताइएको छ ।