धरान : उदयपुरको बेलका नगरपालिका–८ कोठाबाट गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर हतुवागढी–८ का २६ वर्षीय नवीन्द्र राई र २३ वर्षीय हेम राज राई रहेका छन् । हिजो बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोस्ट कोठाबाट खटिएको प्रहरी टोलीले को १ ज ४५९ नम्बरको बोलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम गाँजा फेला पारेको थियो ।

गाँजा फेला परे पश्चात् सोधपुछ गर्दा उक्त गाँजा नवीन्द्र र हेमराज राईको खुल्न आएसँगै उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भइरहेको छ ।