धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले अस्पताल सेवा पनि अवरुद्ध गर्ने घोषणा गरेकोप्रति प्रतिष्ठानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठानका रजिस्टर डा. मोहनचन्द्र रेग्मीले एक विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षको तर्फबाट माग भए बमोजिम नै नेपाल सरकारबाट एक उच्च स्तरीय छानबिन समिति गठन भई सो समितिले काम गरिरहेको उल्लेख गरेका छन् ।

सरोकारवाला निकाय एवं व्यवस्थापन पक्षबाट समेत आवश्यक जानकारी एवं सूचना सङ्कलन गरेको र सो को प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा रहेको अवस्थामा आन्दोलनरत पक्षहरूले अस्पताल सेवा अवरुद्ध गर्ने घोषणा गर्नुका साथै प्रतिष्ठानको विभिन्न शाखा/महाशाखामा काम गर्ने कर्मचारीहरूलाई सामूहिक रूपमा कार्यालयमा गई विभिन्न जानकारी माग गर्ने एवं सोका लागि व्यक्तिगत रूपमा दबाब दिई गरिएको अवाञ्छित क्रियाकलाप प्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालको विषम परिस्थितिमा संवेदनशील अस्पताल सेवामा संलग्न जो कोही पनि स्वास्थ्यकर्मी लगायत कर्मचारीहरूलाई व्यक्तिगत रूपमा दबाब दिनु तथा कार्यमा अवरोध सिर्जना गर्ने जस्ता क्रियाकलापहरू सञ्चालन गर्नु अत्यन्त दुःखद रहेको पनि विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारले स्वयं उच्च स्तरीय समिति मार्फत आवश्यक छानबिन गरी गरिरहेको सन्दर्भमा स्वास्थ्य संस्थामा आबद्ध हामी कसैले पनि कुनै पनि प्रकारको प्रतिकुल कार्यक्रमहरू नगरी आ-आफ्नो स्तरबाट समस्याको छिटो निकास निकाल्ने तर्फ आवश्यक पहलकदमीका लागि आपसी अन्तरक्रिया समन्वय र सहकार्यका साथ अघि बढ्नु उपयुक्त हुने भएकोले कुनै पनि प्रकारका अवाञ्छित क्रियाकलापहरू नगर्न/नगराउन सबैलाई अनुरोध समेत प्रतिष्ठानले गरेको छ ।

बीपीको सुद्धिकरणकोलागि आन्दोलन गरिरहेको संयुक्त सङ्घर्ष समितिले आफ्नो माग सम्बोधन नभए इमरजेन्सी र कोभिड अस्पतालको सेवा बाहेक सबै सेवा बहिस्कार गर्ने घोषणा गरेको छ।

BP-Bigyapti