धरान : धरानको १६ नम्बर वडा कार्यालयमा चोरी गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुनसरीका प्रहरीले दिएको जानकारी अनुसार चोरी गरेको सामानहरू दुहबीमा बिक्री गर्न पुगेको बेला उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा प्रदेश १-०२-००३ ह ७८ नम्बरको ट्याम्पूका चालक धरान-१ का ३० वर्षीय शङ्कर साह र ३२ वर्षीय सन्तोष भुजेल रहेका छन्।

चोरीमा संलग्न अन्य २ जना भने अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ। फरार हुनेहरू धरान-६ र धरान-१७ का दुई युवा रहेको सुनसरी प्रहरी प्रमुख सञ्जय सिंह थापाले जनकारी दिए।

पक्राउ परेका दुबैलाई आज सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा ७ सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिए।

वडा नं १६ का वडा अध्यक्ष दिलकुमार गिरीका अनुसार साउन १५ गते शुक्रवार राती दुई थान कम्प्युटर, मल्टिप्लग २ थान, कपी १ दर्जन, पेन्सिल २ दर्जन, सिटामोल १५ बट्टा, जुकाको औषधी १ बट्टा, पिपिई सेट १ थान, मास्क १० प्याकेजलगायत चोरी भएको थियो।

वडा कार्यालयको ३ वटा कोठाको चाबी रडले फुटाएर सामानहरू चोरी भएको उनले बताए । सामान चोरी गरिसके पछि उनीहरूले सामान एक अर्का बिच बाँडेको पनि खुलेको छ। साउन १५ गते राती ११ बजेर २५ मिनेटमा उनीहरू वडा कार्यालय प्रवेश गरेको सिसिटिभी फुटेजबाट खुलेको छ।