धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले तीन सदस्यीय एक समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

समितिका सदस्यहरूमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी रहेका छन्। राज्यमन्त्रीको सचिवालयका अनुसार समितिका संयोजक र सदस्यहरूले मंगलबार पत्र बुझेर काम अगाडि बढाउने बताइएको छ ।

प्रतिष्ठानमा असार १ गते देखि आन्दोलन भइरहेको छ । प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले प्रतिष्ठान सुधारका लागि विभिन्न १२ बुँदे माग राख्दै आइरहेका छन् ।

प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिले शनिवार सरकारलाई वार्ता समिति बनाउन र मागका विषयमा ठोस कदम चाल्न ७२ घण्टाको अल्टिमेटम दिएका थिए । उक्त अल्टिमेटम मंगलबार साँझ सकिँदैछ । उक्त अवधिमा पनि सरकारले आवश्यक कदम नचाले उपचार लगायतका सेवा तथा काम बहिष्कारको चेतावनी दिएका छन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सोही कुरा ख्याल गर्दै समस्या समाधानका लागि वार्ता समिति बनाएको उनको सचिवालयले जनाएको स्वास्थ्य खबर पत्रिकाले जनाएको छ ।

सरकारले बार्ताका लागि समिति गठन गरेको आन्दोलनरत समूहलाई अनौपचारिक रुपमा जानकारी प्राप्त भएको डा.पदम नेपालीले बताए। सरकारले समिति गठन गरेर बीपीको समस्या समाधानमा आफ्नो ध्यान केन्द्रित गरेकोलाई सकारात्मक मान्नुपर्ने बताउँदै उनले भने-'हेरौँ अव समितिले हाम्रो मागको सम्बोधन कसरी गर्छ।'