धरान : नेपाल र भारतको दोहोरो नागरिकता लिएको आरोपमा मोरङका रमेश यादव विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले विराटनगर-८ मधुमारामा बस्दै आएका यादवले नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा उजुरी परेको पुष्टि गरे।

प्रजिअ निरौलाले भने 'दोहोरो नागरिकता लिएको आरोपमा यादवलाई कारबाहीको माग राख्दै प्रमाणसहित उजुरी परेको छ। दोहोरो नागरिकता लिनु गैरकानुनी भएकाले यादवलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रक्रियामा छौ।'

दोहोरो नागरिकता बनाएका यादवले जग्गाको कारोबार गर्नुको साथै विराटनगरमा व्यापार ब्यावसायमा पनि लगानी गर्दै आएका छन् । उनले २०६३ साल चैत २८ गते साबिकको विराटनगर २२ वडा खुलाएर यादवको टोली आएको बेलामा नागरिकता बनाएको बुझिएको छ।

उनको नेपाली नागरिकता नम्बर ०५३०८७/२२१ रहेको छ। जगदिव यादव बाबु रहेको रमेशको भारतीय मतदाता परिचय-पत्र एमएफभी ५६५७२३४ रहेको छ। सन् २००५ जुन ६ तारिखमा यादवले बनाएको भारतीय मतदाता परिचय-पत्र अनुसार निर्वाचनमा फारबिसगंजमा निर्वाचन केन्द्र उल्लेख छ।

यादवले २ लाख रुपैयाँ तिरेर तीन वर्ष अगाडि नागरिकता बनाएको भन्दै हिँड्ने गरेका छन्। दोहोरो नागरिकता लिएको विषयमा यादवसँग सम्पर्क गर्न खोज्दा उनी सँग सम्पर्क हुन सकेन।