विराटनगर : विराटनगरको गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका एक जना वृद्ध पुरुषको सोमबार राति मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले अस्पतालका कर्मचारी एवं सुरक्षा गार्ड माथि कुटपिट गरेका छन् । मध्यरातमा अस्पतालको काउन्टरमा तोडफोडसमेत भएको प्रहरीले जनाएको छ ।

तोडफोडबाट काउन्टरको झ्यालको सिसा फुटेका छन् । मलद्वारमा पिलो (घाउ) रहेका हुसेनलाई उपचारका लागि सोमबार बिहान परिवारका सदस्यले अस्पताल भर्ना गरेका थिए । सर्जन डा. सरोज राजवंशीको टोलीले साँझ ७ बजेतिर पिलोको शल्यक्रिया गरेको गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बताए ।

उनका अनुसार शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका हुसेनको राति १० बजेतिर मृत्यु भएको हो । त्यसको केही बेरमै हुलदङ्गा र तोडफोड हुँदा अस्पतालको अवस्था तनावग्रस्त बनेको मेहताले बताए ।

‘पिलोका कारण सङ्क्रमण फैलिएर बिरामीको मिर्गौला, मुटुलगायत शरीरका विभिन्न अङ्गले काम गर्न छाडिसकेको रहेछ,’ मेहेताले भने, ‘बढ्दै गएको सङ्क्रमण रोक्न र बिरामीलाई बचाउन शल्यक्रियाको सहारा लिइएको भए पनि सफल हुन सकिएन ।’ उनका अनुसार घाउका कारण शरीरका भित्री अङ्गमा बढ्दै गएको सङ्क्रमण नियन्त्रण गर्न शल्यक्रियाको विकल्प नभएको चिकित्सकले बताएका छन् ।

बिरामीमा मधुमेह र न्यून रक्तचापको पुरानै समस्या पनि रहेको अस्पतालले जनाएको छ । मलद्वारको घाउका कारण बढ्दो सङ्क्रमणसँगै शरीरका भित्री अङ्ग निष्क्रिय हुँदा ‘मल्टिपल अग्र्यान फेलर’ भएर बिरामीको मृत्यु भएको जानकारी चिकित्सकले दिएको मेहताको भनाइ छ ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै २५/३० जनाको सङ्ख्यामा रहेको समूह मध्य राति १०ः१५ बजेतिर तोडफोड र कुटपिटमा उत्रिएको उनको भनाइ छ । उनका अनुसार आक्रोशित भीडलाई रोक्न र सम्झाई बुझाई गर्न खोज्दा कर्मचारी र सुरक्षा गार्डमाथि कुटपिट भएको हो ।

कुटपिट र तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेर घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार धनपालथान–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेरलाई पक्राउ गरिएको हो । मृतकको शव भने अस्पतालमै रहेको छ ।

शव बुझ्न कोही पनि आफन्त नआएको अस्पतालका प्रशासकीय अधिकृत मेहताले बताए । मृतकका आफन्तले भने शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग राखेका छन् ।