इटहरी : मोरङको बेलबारी नगरपालिकाले बुधवार देखी सम्पूर्ण सरकारी तथा निजी कार्यलयहरु बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले साउन १९ गते राति १२ बजे देखी २५ गतेसम्म सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय बन्द गर्न आग्रह गरेको हो।

बेलबारीमा रहेका सरकारी कार्यलयहरुलाई पत्र पठाउँदै नगरपालिकाले सेवा प्रवाह बन्द गर्न आग्रह गरेको छ । मालपोत, नापी र नेपाल बिद्युत् प्राधिकरण बेलबारी वितरण केन्द्रलाई पत्र पठाएर सेवा प्रवाह बन्द गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले जानकारी दिए । उनका अनुसार सङ्क्रमण दर उच्च हुँदै गएपछि बजार पसल तथा कार्यलयहरु बन्द गर्नुपरेको हो।

सोही बैठकले अत्यावश्यक सेवा बाहेक सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । यस बिचमा सम्पूर्ण वित्तीय संस्था तथा सहकारीहरू समेत बन्द गर्न आग्रह गरिएको शाहले बताए । नगरपालिकाको निर्णय कार्यान्वयनको लागी भन्दै इलाका प्रहरी कार्यालय बेलबारी, सशस्त्र प्रहरी बल बाहुनी, सशस्त्र प्रहरी बल लक्ष्मी मार्ग र सम्पूर्ण वित्तीय संस्थाको नाममा निर्णय पठाइएको छ।

शाहका अनुसार साउन १ देखी १७ गतेसम्मको परीक्षणमा ४० प्रतिशत कोभिड पोजेटिभ देखिएका छन् । संक्रमणदर उच्च हुँदै गएपछि नियन्त्रणको पहिलो चरण स्वरूप बन्द गर्ने निर्णय गरिएको उनले बताए । निषेधाज्ञाको अधिकार जिल्ला प्रशासन कार्यालयलाई मात्र भएको जानकारी गराउँदै उनले बन्द गर्ने भनी निर्णय भएको सुनाए।

Belbari-circulur