धरान : धरानमा भोलि देखि कोरोना विरुद्धको अमेरिकन जोनसन एण्ड जोनसन खोप लगाइने भएको छ ।

हिजो साँझ धरान उपमहानगरपालिकामा १ हजार भायल जोनसन एण्ड जोनसन खोप आइपुगेको छ । १ भायल बरावर ५ डोज हुने भएकोले धरानका ५ हजार जनालाई पुग्ने खोप आइपुगेको जनाइएको छ ।

५० वर्ष देखि ५४ वर्ष उमेर समूहकालाई, अपाङ्ग, अशक्त र छुटेका स्वास्थ्यकर्मी, विदेश जानेहरू र सफाइकर्मीलाई खोप लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन् ।

यस पटक धरानमा खोप कार्यक्रमलाई व्यवस्थित गर्नका लागि केही दिन अघि धरानका मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार धरानमा तीन चरणमा खोप अभियान सञ्चालन हुनेछ ।

जस अनुसार पहिलो चरणमा ७ वटा वडाका लक्षित समूहलाई एक दिन लाईदैछ भने दोस्रो दिन ६ वटा वडा र तेस्रो दिन ७ वटा वडा गरी २० वटै वडामा एक एक दिन वडा कार्यालयले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने बताइएको छ ।

खोप अभियानलाई व्यवस्थित गर्नका लागि धरानका २० वटै वडामा समन्वय तथा सहजीकरण समिति गठन भएको छ भने स्वास्थ्य कार्यालयका कर्मचारीहरूले पनि खोप अभियानमा सक्रियरुपमा खटेर काम गर्ने निर्णय भएको छ ।

स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार पहिलो दिन साउन २० गते धरान-२ को लागि बालिका स्कुल सिंहदेवी चौक, धरान-३ का लागि भानु स्मृति मावि, धरान-४ का लागि आधारभूत स्वास्थ्य केन्द्र हर्दिया, धरान-६ का लागि सरस्वती मावि पानवारी, धरान-७ का लागि सिद्धि नेवा परिषद्, धरान-९ का लागि समिट मावि र धरान-१० का लागि सैनिक भवन खोप केन्द्र तोकिएको छ ।

यसै गरी दोस्रो दिन साउन २१ गते धरान-११ का लागि ज्ञानोदय मावि, धरान-१२ का लागि पब्लिक हाईस्कुल, धरान-१४ का लागि दन्तकाली मावि, धरान-१६ का लागि चन्द्र संस्कृत मावि, धरान-१७ का लागि पञ्चायत मावि रेल्वे, धरान-१९ का लागि किराँतेश्वर मावि खोप केन्द्र तोकिएको छ ।

यसै गरी तेस्रो दिन साउन २२ गते धरान-१ का लागि धरान स्वास्थ्य चौकी छाताचौक, धरान-८ का लागि धरान सभागृह, धरान-५ का लागि पाचकन्य स्वास्थ्य चौकी, धरान-१३ का लागि आधारभूत स्वास्थ्य केन्द्र धरान-१३, धरान-१५ का लागि पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरान-१८ का लागि कार्मेल हाईस्कुल र धरान-२० का लागि विष्णुपादुका स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ ।

सबै खोप केन्द्रहरुमा विहान १० बजे देखि अपरान्ह ४ बजे सम्म खोप अभियान संचालन हुनेछ ।